Namrata Guragain – Dharan Dekhi Biratnagar Samma

बिहानको चिसो हावासँग कावा खाँदै
दन्तकाली र बुढासुब्बालाई भाक्दै
धरान पाहुनालाई सगुन पस्कने गर्छ
एक्काइसौ शताब्दीको बैभबसंग खेल्दै
आधुनिक भएकोमा गर्व गर्छ
फूल टिप्न भेडेटारसम्म उक्लिदैन
कपालमा गुराँश सिउरिएर
संस्कार जोगाएकोमा गर्व गर्छ ।

खुशी पार्न साह्रै जान्ने छ धरान
इटहरीलाई खुशी पारेर दाल चामल मगाउँछ
धनकुटालाइ खुशी पारेर तरकारी मगाउँछ
न एक चपरी माटो उक्काउँछ न एक आँतर हलो समाउँछ
मसिना चामलमा होस कि कालो दालमा होस
धरान तराइको स्वाद भने जम्मै पाउँछ
सुन्तला मा होस कि कागतीमा
डुकुमा होस कि मुलामा
धरान पाहाडको स्वाद जिब्रोमै झुड्याउँछ ।

इटहरी आधा धरान र आधा विराटनगरसँग रमाउँछ
हलुवा पुरीले मातेको मुख
कहिले कािहं
बासी नै डुकु भेटे पनि
कागती निचोरेर स्वादिलो बनाउँछ
चौरमा बसेर बदमका बोक्रा छोडाउँदै
आउने जानेलाइ हात हल्लाउँछ
चौरस्तामा बसेकोले राजधानीको खबर चाँडै पाउँछ
चित्त नबुझे चोकमै उभिएर जुलुस लाउँछ
बुढिखोलाको बुढयौली पनलाइ आफूमा राखेर
सधै दुध लिन बाल्टी बोकेर दुलारी धाउँछ ।

विराटनगर ठूला ठूला नेतालाई जन्माएकोमा गर्व गर्छ
सिन्को भाच्दैन आफू फूर्तिलो देखाउन
गाउलाइ बोलाएर टुडिखेल भर्छ
दिनभरीको काम खोसेर आमसभा गर्छ
नेता खुशी पार्न
सधै सधै गाउँलाई बिर्सिएर गर्व गर्छ ।

भारु स्वादमै मस्त छ विराटनगर
मिनीबसमा चढेर होस कि टेम्पोमा
रिक्सामा चढेर होस कि साइकलमा
दिनभरी ढाट वारी पारी गर्छ
छिमेकीलाइ खुशी पारेर वजार भर्छ
एकदिन पारी ढाट लागे
उसको दाना पानी हराउँछ
रोजी रोटी खोसिने डरले पनि
हरहमेसा विराटनगर
हलुवा पुरीमा होस कि छोलामा होस
समोशामा होस कि जुलेवीमा होस
जोगवनीलाइ खुशी पारेर
आफु विराट भएको महशुस गर्छ ।

मोरंग, हाल: नेब्रास्का, अमेरिका