Niroj – Dasee

निरोज – दसी

उज्यालो दिने निहुँमा
सल्काएर छोडे पछि
डढेलो लागेको आफ्नै आसमा
भत्कीदै गरेको विश्वास च्याँपेर
अन्धकार रात बाँची रहदा
झस्क्याईदिन्छ र पो त
नुन चुक छरिन्छ घाउमा
तिम्रै यादको एैठनले
झकाउन खोज्छु जति पटक म ।

तिमी भन्छ्यौ — म ढुङ्गा हूँ
र म त्यही ढुङ्गा प्रमको
ढुङ्गे अक्करमा सपनाको
जोड घटाउ गरीरहेछु
आधी बाँचेर आसमा
आधी मरेर निरासामा ।

यादले नसताउने तिमीलाई
तिम्रो प्रमको प्रवासमा
शरणार्थी मिल्काइएको
अधमरो लासमा
मेरो जिन्दगी खुम्चीएको छ
र सोझै मुटुमा
तिमीले हानेको तिर
दसी बोकेर स्मृतिमा
एक हातले
भलभल्ती बगेको रगत थामीरहदा
अर्को हातले कागज खोप्दै छु — प्रियतमा
मुटु भित्रको तिम्रो तस्वीरलाई
सुरक्षित स्थनान्तरण गर्न ।

यहाँ रहर बाँचेर
प्रहर कटाउने
मात्रै अल्झेको छु नियतिमा यतिखेर
जबकी प्रत्येक पल्ट बजाईदिदा
घण्टी तिमीले निषेधको
झर्न विवश हुन्छु सुकेको पात झै
र कुनै बेला
डिलमा तिम्रो परेलीको
तप्कीएका आँशु सम्झदा — सम्भावानामा
चढ्दै हुन्छु आकासमा
मेरो जून भेट्न
तर फेरि हठात्
उडाइन्छु कता कता
उहि झर्नु र चढ्नुको
विवश विवश यात्रा
न अङ्गालोमा जून छ
न विश्राममा आधार छ
फगत् सुकेको पात बाँचेको छु ।

भरथेग
कसैको उँधारो आश्वासनले
चल्छ र कतिञ्जेल ?
जबकी सुनामी हलचलमा म छु
कारण उपेक्षाको लहरमा
आफैलाई अर्पिसक्दा पनि
तिम्रा सुन्दर आँखीभौँ मूनि — मैले कोरेका
धेरै सुन्दर सपनाहरु छन्
फक्रिदै गरेको गुलाफको
गुच्छासँग साट्न बाँकी ।

पात्रोमा त पूर्णिमा अंङ्कित छ
तर कसरी बोलाउन सक्छु म तिमीलाई
आफै अन्धकार अनुभव गरिरहदा
बिझेर काँडा पाइतालामा
बग्न सक्छ भेल रगतको
जति बगाउनु बगाई सकेर मैले नै
तिरीसकेको छु भार जगत्को
भो तिमी तिमै्र सँघारमा बस
म तड्पी तड्पी
आफ्नै प्यारमा मर्छु ।

प्रियतमा
मैले टोलाएको क्षितिज पल्तीर
तिम्रो शहरमा
कुनै बेला मैले फेरेमो श्वासमा पनि
प्रेम छोडेको थिए
भन अब कसरी
फिर्ता लिन सक्छु म त्यो श्वास ?

कुनै रङ्गहरुको संयोजनले
नसमेट्दा तिम्रो मुहारको आभा
हतास हतास छु
निरास निरास छु
क्यानभासमा
मुस्कुराईरहदा पनि तिमी
आफ्नै ओठहरुको डोब
नभेट्दा तिम्रा गालाहरुमा ।

अनुभव — जो सँगालेको थिए
यात्राहरुमा
गर्यौ र पो त इन्कार
राख्न आफ्नै पोल्टामा
बग्यो पानी सँगै
पुल मूनि नारायणीमा
तर जतन गरेर राखेको छु
मुटु भरिको माया तिमीलाई
अस्वीकृत प्रेम जमानामा पनि
त्यसैले त भन्छु
चुपचाप निदाउ
भरे आउनेछु सपनीमा
गुलाफको गुच्छा लिएर
तिमीलाई फेरि पनि
जनाउ दिन प्रेमको ।

आफ्नै निष्ठामा अतिक्रमण गराउन
बित्थ्यामा शँङ्काहरु ओरालेर
थाहा छैन किन सोध्दै छु प्रश्नहरु —
कहाँ ? कसरी ? कोसित ?
बिताउदै छौ बैशका कौमूदी रातहरु ।

समय यतिखेर
मै उभिएको विन्दुबाट
प्रस्थान गर्न खोज्दैछ
आँधी, हुरी, भेल, बाढी
सबै सबै अङ्गालेर
र मलाई बाँधेको समय
शून्यतामा टक्क अडिएको छ
जनाउँ दिन शून्य समयको ।

मलाई थाहा छ
यो — हुरी समय
— आँधी समय
— भेल समय
— बाढी समय
एकै छिन पछि
भत्काउन उध्त हुनेछ
किनार उभिएको मलाई
तै पनि शून्य समयको
कोलाहल मस्तिष्कबाट
निकाली छोडीराखेको छु
दसी मेरो प्रेमको ।

देउराली—३, नवलपरासी