Krishna Bajagain – Dhaar

कृष्ण बजगाईं – धार

बैंशालु युवतीसँग छिल्लिएझैं
उत्ताउलिएर मान्छेहरु
समयको धारसँग खेल्छन्
धार एउटा लक्ष्मण रेखा हो
समयको कठघरामा उभिएको मान्छेहरु
त्यसमाथि टेकेर वारपार गर्दछन्
अर्जाप्छन् हतियारहरु
समयको धारमा ।
शिरोच्छेदन गर्दछन् समयको
अनि घण्टा, मिनेट र सेकेण्ड छाडेर
माइक्रो सेकेण्डको हिसाव गर्दै दौडन्छन्
घडीको वरिपिर ।
जब समयको धारले
रेट्दै ल्याउँछ तिनीहरुलाई
छाडिन्छन् मझधारमा
र झुण्डिन्छन् घडीको पेण्डुलुम झैं
समयको भित्तामा ।
तर पनि पाखण्डी मान्छेहरु हार्न मान्दैनन्
धारलाई जित्न टाउकोले टेकेर हिँड्छन्
अतिरिक्त समयमा
तव हरेक दिन मृत्युत्सव मनाउँछन् धारहरुले
प्रत्येक माईक्रो सेकेण्डमा ।