महेन्द्र अदृश्य राई – बिद्रोह गरिब सर्बोच्चताको
मलाई थाहा छ,
पूँजीपतिहरु
गरिबलाई बिचराको पात्र बनाउँछन्
समाजसेवाको नाममा
दानि बनि टोपलेर
बाड्छन् पशुपतीमा स्वार्थ
आर्शिबाद दिन्छन्
ए गरिब!
गरिब सधैं बनिरहनु
धनि भयौ भने
कहा अस्तित्व रहन्छ र मेरो ।
यस्तै भन्छन् पैसाको बिठाहरु
तिमी
अबोध बालक बनेर
मुन्टो हल्लाउछौं
हात जोडिरहन्छौं
जब सम्म खाउ भन्दैनन् ।
टपरी नछुनु,
अनुमती लिनुछ तिमीलाई
दानमा मिलेको बस्तु पनि
हल्लिदैन चटपटाउदैन ।
जबसम्म तिमी उसको
हलगोरुमा अर्को गोरु थपिदैंनौ
हलो जूवा बोक्दैनौ
र,उसको ठूलो भूडिमा बोसे आन्द्रा बन्नेछौ
त्यसबेला सम्म
जूठो खानाको भाग बन्नेछौ
च्यातिएको कपडाहरु बर्सिरहने छन्
तिम्रो मौनता माथि ।
अनि,
तिम्रो छोराछोरीले स्विकार्नु पर्छ कम्लहरी
तिम्रो श्रीमती हुनु पर्छ वादी
पुरै परिवारको नेतृत्व गर्दै
तिमी बनिरहनेछौ कमैया ।
जतिनै कागजी खोस्टामा
अधिकारका हरफहरु लेखुन्
तिम्रो दर्दनाक ईतिहाँस हुने छैन
सुन्दर भविष्य कोरिने छैन,
किनकी घोडाको मित घाँस हुदैन
ए हलि दाई !
मेरो पसिना मेरै आँखामा पस्दा
खूब संग पोल्छ आँशु आउछ,
तिम्रो पसिना अरुको भकारीमा पस्दा
मन मुटु पोल्छ पोल्दैन ।
यदि पोल्छ भने
आउ साथ साथमा गर्नुछ
बिद्रोह गरिब सर्बोच्चताको ।
सुनसरी