Ashok Parthib Tamang – Sabhyata Ra Prem

तिमी हराउनु र मैले खोज्नुमा
कस्तो तारतम्यता मिलेछ ?
तिमी युग छेकेर
हाँसेकी रहेछौ ।
मैले परिवेश कन्याँए
तिमी उफ्रियौ कुतकुतिएर ।
कस्तो पुलकित नयनहरू ?
अनि
स्खलित भए भावना गंगाहरू
तिमी भेटिएको अर्थ खोज्नँ ,
तिमी हुनुको फरकपन नियाल्नँ ।

शायद जंजीरको पर्दा च्यातियो
त्यतिखेर हावाले,
ध्वारर्र………
अनि
मैले देखें
तिम्रो लाजहरू,
इतिहास खाएका ध्वजा-पताकाहरू
यसरी नै हल्लिरहेछन् हारेर
मौनतामा
अतृप्त प्यास बोकेर
स्वयंभुको गुम्बाहरूमा,
मस्जिष्दको बलेंसीहरूमा,
मन्दिरको ढोका अघिल्तिर ।

मानौ,
फुट्नँ पाए ‘च्छो रोल्पा’ ताल भएर फुट्नेछन्
अनि बगाउँनेछन् लाजका किरणहरू
प्यासै प्यासले पखालेर
सानो लक्ष्मणरेखामा
चेपिएर
बाँचेका
पुर्ख्यौली मानव नासोहरू ।

उफ ! यो बादलको टुक्रा टुक्रा
हिमालको उचाइ छोएर
तिम्रो मायाको गहिराइ नाप्नँ खोज्छ
बिना संकोच
शायद
तिमी स्विकृतीमा हारेकी छौ ,
यसबेला
मेरै लागी भनेर
त्यसैले त
एक मुठी स्वासलाइ फुरूरूरू
नदिको विभाजन
धारहरूमा बहाइरहेछौ ।

मध्यरातले बैंस सुसेल्दैछ ,
खेतका गह्रा, झुपडी अनि चोटाहरूमा ।
सन्नाटाले जन्माएको
अर्को भाले मयुर
पोथीमयुरको भाका उरेल्छ
खैजँडी झैं बज्ने मनभित्रका सितारहरू,
ट्युनिङ नगरिएको
गिटार र हारमोनियम जस्तै
बेसुरा बजिरहेछ,
तर पनि
मधुहोस् छ वातावरण ।

अभिसिप्त मनहरू
अभिलाशको चारो खोज्न
जंगली बँदेलका हुल जस्तै
बग्रेल्ती निस्कँन्छन्
बिल्कुलै जंगली भएर ।
मनको खोर भत्काएर
स्वतन्त्रतामा बिलिन हुन चाहन्छन्
तर
छेउछाउ जासुस गर्छ
हावाका साँधहरू
अनि भर्छ
भरूवा बन्दुक

तेर्साउँछ निशाना
प्रेमालिङगनमा समर्पित
तिमी र म जस्ता
जोडीहरूलाइ ।

प्रेम सिध्दान्त
पल्टाउँदा
शहिद ?

उफ !
असोचनिय
किन जाग्दैन मान्छे ?
प्रेम,
पापानुभूतिको बिस्कुँन होइन भनेर
अनि
किन खोस्दैनँ बन्दुक ?

सिकाउँदैन
उपहारमा
मुस्कान र मात्र एक बचन
मिठो हेरिदेउ भनेर ।

सधै हारेको खेलाडी जस्तो
कसैले बेस्कनँ चुटेर
थाँङथिलो बनाएको शरीर जस्तो,
हिडींरहेछ यो सभ्यता
नाँङलोमा दुइ चार वटा बिक्री हुँन बाँकी रहेका
लाइटर र चुरोटको बट्टा बोकी
रत्नपार्कको
सब वे हरूमा लुरूलुरू ।

मानौ
धरहरा उभिएर घण्टाघर सितको
प्रेमाकर्षण दृष्यहरूको चाँङमा
रानीपोखरी नापिरहेछ
सुन्धाराबाट टुलुटुलु प्रत्येक रात ।

तपेश्वरी १, उदयपुर, हालः इजरायल