Durga Lal Shrestha – Birkhe Ko Bahulahapan [Bal Kabita]

बूढा माझी बिर्खे बस्छन्
नदीको किनार,
औंला गन्दै बर्ख भन्छन्
तीन बीस, बाह्र !

किन कुन्नि अचेल उनी
भुत्भुताई हिँड् छन्,
छिः छिः भन्दै कैले फेरि
नाक पनि थुन्छन् !

परालको घरमाथिर्
कर्कटको छानो,
हेर्दै हाँस्छन् खितितिती
गिज्याएझैँ मानो !

कैले भन्छन्, ‘पसेछ लौ
सहर लसक्कै,
निल्ने भयो लौ न उल्ले
यो गाउँ भसक्कै !’
‘रामतिल्केले रामझुपडी
टिलिक्क ठड्यायो,
हर्दाहेर्दै मन्दिरको
सत्तल हरायो ।’

‘ढ्याङ्ढ्याङ्गले निल्दै ल्यायो
घिन्तिङघिन्तिङ बोल,
मारुनीको जीउमाथि
नाच्यो रक-एन-रोल ।’

‘जत्तिजत्ति हुँदै गयो
चाहिने अनेक,
उत्तिउत्ति मानिसको
बिलायो विवेक ।’

‘खनखन कराउँछ
जताततै धन,
यता छैन, उता छैन
कता छ खै मन -‘

२०५८ चैत ९