माटाले भयानक युद्ध लडिसकेकाछन् ।
माटाले भयंकर युद्ध खेपिसकेकाछन् ।
माटाले भीषण युद्ध देखिसकेकाछन् ।
पराजयको नाममा –
म गीत गाइरहेछु ,
महाभारत
मात्रै, माटोको युद्ध थिएन –
अजेय शक्ति ठानिएको ,
कौरवराजको अवसान पछि ,
मरुभूमि जस्तै बनेको कुरुक्षेत्र –
चाहेर पनि युद्ध लड्न सक्दैन ,
स्वयं युद्ध लडेर थाकेको ,
कुरुक्षेत्र झै भएको छ कुरुक्षेत्रको मन पनि ।
कुरुक्षेत्रको युद्धमा ,
कंकाल भएका हाडहरु ,
अझै मक्किसकेका छैनन् –
केहीअघि मात्र ,
गिद्धहरु उड्न छाडेकाछन् आकाशमा ।
चारैतिर चकमन्न छ –
सुन्सान छ हस्तिनापुर ,
बाँचेका जे जतिछन् ,
पाएर पनि गुमाएका जस्ताछन् ।
जितेर पनि हारेका जस्ताछन् ।
लिने मान्छे नपाउँदा,
अंशको मूल्य नै कहां हुन्छ र धर्तीमा
भरखरै मात्र धृतराष्टले ,
आफ्नै छोराहरुको श्राद्ध सकेकाछन् ।
केही अस्टचिरन्जीवीहरु,
शीतल ताप्न ,
हिमालयतिर छिरेकाछन् ।
पुत्र शोकमा शोकाकुल द्रौपती ,
पुत्रमोहको नशामा ,
भौतारिरहेकी छिन् –
र
देशको पुण्य शिखरमाथि उभिएर ,
सांकेतिक घोषण गरिरहेछिन् –
“पुनः एक दिन त्रि्र्रो माटामा,
भयानक गड्गडाहट संगै –
फेरि भूइचालो जानेछ ,
र
हाहाकार हुनेछ –
सहयोगको / याचनाको ,
सहज भोग्न पाउनेछैनौ मृत्युलाई –
मर्ने मान्छे नभेटेर ,
मृत्युसमेत रुनेछ त्यो क्षण ।
र
सकिनेछ अध्याय –
कफनको / मलामीको ,
असंख्य अघोषित मृत्युवरणपछि ,
त्रि्रो शहर हुनेछ –
मान्छे बिनाको शहर ।”
अनामनगर, काठमान्डौ