साउने झरीलाई भरखर सुकाएर,
शरद्को न्यानो जूनलाई निम्त्याउँदै-
वर्षदिनको थकाई र सुस्केराहरूलाई,
एकै क्षण भएपनि बाहिर ओकलेर
जमरा र दूबोका सगुनहरूसँगै,
विजया र्सवत्र खुलेकी छन् ।
मुटुभरि माया र आँखाभरि झझल्काहरू समेटेर
भएजति स्नेह जन्मथलोलाई खन्याउँदै,
आर्शिवादका सगरमाथा थाम्ने छाती बोकेर
बाहिर पढ्न निस्केका रामप्रसाद हिजै आएका छन् ।
जागिर भर्न गएका जगन्नाथ पनि भित्रिएका छन् ।
लाहुर लड्न पसेका वीरबहादुर पनि फर्केका छन् ।
पहाडको चौतारी हुनसक्छ
भित्री मधेश वा तर्राईको बिसाउनी हुनसक्छ
जताततै रमाइलोका कथा हालिंदैछन्
जतासुकै पिङ्का र्सकाहरु मच्चिंदैछन् ।
अस्तिसम्म भिर्ने गरेका-
डोको र ढाकरका खर्पनहरूलाई-
हिजैदेखि बाहिर बिसाएर
सन्ते र मसिने
धार्नी र बिसौलीका कुरा गर्छन् ।
झुत्रा-झाम्राको हिजोलाई बिर्सिएर,
नयाँ लुगाहरूमा चञ्चल देखिइँदै,
सुन्तली र सानी कान्छी
चिची र पापाका गफहरू हाल्छन् ।
मोहर र सुकाका रेज्कीहरू गन्छन् ।
घर-घरमा निधारहरू रंगाउँदै,
मोड-मोडमा भीडहरू ओसारेर-
मान्यवरका आर्शिरवादहरू खन्याउँदै,
पोहोरजस्तै खुसीहरू उमारेर
मेरो दशैं तिमी आएका छौ ।
प्रत्येक नेपालीका घर-घरमा,
मेरो पर्व तिमी छाएका छौ,
डेढ कोटिका दुःख-सुखमा ।
One thought on “Krishna Prasai – Dashain”
Comments are closed.