Chanki Shrestha – Bhram Ko Parda Chyatiyeko Din

तिम्रो भ्रमको पर्दा च्यातिएको दिन
आँसुहरूको दियो बालेर म तिमीलाई भेट्न आउनेछु
र, प्रकट गर्नेछु मेरो युगको अन्तिम समवेदना तिमीलाई ।

मिच्नेहरू मिचिरहेछन् हत्केलामा
आँसु र पसिनाका फूलहरू
निमोठ्नेहरू निमोठिरहेछन्
निश्छल/कोमल जिन्दगीका पालुवाहरू
यो बेहिसाब आँसु र पसिनाको हिसाब कसरी हुने हो,
त्यो हेर्न बाँकी नै छ ।

बन्दुकका खेलहरू तिमीलाई प्रिय लाग्छन्
प्रिय लाग्छन् तिमीलाई धारिला खुकुरी र छुरीका खेलहरू
तर, बन्दुकको पर्रा खोस्रेको घाउले
मेरो इख तिम्रो विरूद्ध पहाड बन्छ
छुरी र खुकुरीको चोटले मेरो आवाज
तिम्रो विरूद्ध तरबार बन्छ
बन्द हुन्नन् त्रि्रा कारबाहीले मेरा ओठहरू
रोकिँदैन मेरो युद्ध ।

निभ्न लागेको दीप केही क्षण चहकिलो हुन्छ तर निभ्छ
गर्जिरहेको बादल भयावह हुन्छ
तर हावाको एकै झोक्काले छिन्नभिन्न हुन्छ ।

जब फुट्नेछ व्रि्रोह र असन्तोषको एउटा प्रचण्ड ज्वालामुखी
र, सल्कनेछ अन्यायको धुरीमा आगो
म विश्वास गर्छु,
त्यस दिन तिम्रो अपराधको आकाशमा
रापिलो घामको संक्रमण हुनेछ ।

तिम्रो भ्रमको पर्दा च्यातिएको दिन
आँसुहरूको दियो बालेर म तिमीलाई भेट्न आउनेछु
र, प्रकट गर्नेछु मेरो युगको अन्तिम समवेदना तिमीलाई ।