मलाई बाटो देखाउँदै
मेरो अघिअघि हिँड्दैछ मेरो छाया ।
उभिएको छु समयको एउटा यस्तो संघारमा
जहाँ वस्तुको प्रतिनिधित्व गर्छ उसको छायाले
जहाँ छाया होइन
वस्तु नै बनिदिन्छ छायाको प्रतिबिम्ब
जब जब गतिहीन हुन्छ छाया
वस्तु पनि भइदिन्छ एकाएक गतिहीन ।
एक जुग भो
बनाएर मलाई निमित्त-नायक
मेरो नाममा एउटा मायावी खेल खेल्दैछ मेरो छाया
र, विस्थापित गर्दैछ मलाई मेरो ब्रह्मबाट
मिथ्या राजनीतिको वायुपंखी घोडा चढेको
कुनै जनप्रतिनिधिले जस्तै
हिँडाउँदैछ मलाई जिन्दगीको उल्टो दिशामा
जब जब चाल्न चाहन्छु पाइला विवेकको
ऊ छेक्छ मेरो बाटो
र, थाकेर जब सुस्ताउन चाहन्छु
जबर्जस्ती ऊ तान्छ मलाई
जसरी तानिन्छ धापमा फसेको गाडीलाई ।
मलाई बाटो देखाउँदै
मेरो अघिअघि हिँड्दैछ मेरो छाया ।