Chanki Shrestha – Galat Manchhe

एउटा कलिलो बचेरा हातमा लिएर
टाढा कतै हिँडिरहेको थिएँ
आँधीको चापमा
केही कलिला हाँगाहरू भुइँमा खसिरहेका थिए
तिनलाई पनि हातमा लिएर
हल्लाउँदै हिँडिरहेको थिएँ ।
टाढा कतै
एउटा सुन्दर फूल
स्वागतमा हामीलाई हात हल्लाइरहेको थियो
क्षितिजपारि डुब्न लागेको घाम पनि
मायाले एक क्षण टक्क अडिएको थियो ।

तर, केही क्रुद्ध मान्छेहरू
मेरो हातबाट त्यो बचेरा खोस्न खोजिरहेका थिए
कि तुरुन्त त्यसलाई सुम्पन निदेश दिइरहेका थिए
जब म यसलाई लिएर कतै भाग्न खोजिरहेको थिएँ
जबर्जस्ती यसको
एउटा खुट्टा काटेर तिनीहरू कतै भागेका थिए ।

जब म यसको
उपचारका लागि चिकित्सककहाँ गएको थिएँ
उपचारको नाममा यसको एउटा पखेटा काटेर
तिनीहरू पनि कतै भागेका थिए ।

त्यस दिनदेखि निरन्तर हिँडिरहेछु
एउटा खुट्टा र एउटा पखेटा काटिएको यो बचेरा लिएर
हो, हिँडिरहेछु
यो बचेराका काटिएका पखेटा र खुट्टा फिर्ता लिन हिँडिरहेछु ।

कहाँ भेटिएलान् ती मानिसहरू
जसले यसको पखेटा र खुट्टा काटेर लिएका थिए