Chanki Shrestha – Nirwasan

तिनै मानिसहरू
ठान्छन् मलाई पर्राई
र, गर्छन् मलाई अस्वीकार
जससँग गाँसिएको छ मेरो मातृभूमिको नाता ।

ती मानिसहरू पनि
ठान्छन् मलाई असामाजिक
र, गर्छन् मलाई अस्वीकार
जससँग गाँसिएको छ मेरो अनिवार्य वर्तमान ।

तिनै मानिसहरू
ठान्छन् मलाई केवल एउटा कवि
र, धकेल्छन् मलाई कविकुनातिर
जससँग मिलाएर हातमा हात
कमाउनु छ मैलै आफ्नो रोजीरोटी ।

ती मानिसहरू पनि
ठान्छन् मलाई केबल खबरकर्मी
र, गर्छन् मलाई अस्वीकार
जसको बीचमा पाएको छु मैले आत्मपरिचय ।

मेरा प्यारा गाउँलेहरू
मेरा वर्तमान छिमेकीहरू
मेरा दौँतरी खबरकर्मीहरू
मेरा सहयात्री कविहरू
सबैसबै ठान्छन् मलाई अर्कै मान्छे
र, गर्छन् मलाई अस्वीकार ।

कहिलेदेखि गुमाएछु मैले
आत्मनिर्वासनको अधिकार