देशमा विभिषणहरु ज्यूदैं छन्।
देशमा जालन्धरहरु पनि छन्।
जे जति अर्जुनहरु छन्–
ती अव कुनै हालतमा,
कृष्णको वहकाउमा,
युद्ध लड्न चाहादैनन्।
र पश्चतापको भाषामा–
उल्टै सम्झाइरहेछन् कृष्णलाई,
फेरि अर्को युद्धको तयारी–
अव कसैगरी गर्नु हुन्न भनेर।
अझै जिकिर छ कृपाचार्यको –
उनले चाहेका भए ,
विगतमा पनि –
युद्ध टल्न सकिन्थ्यो भनेर।
निरीह धृतराष्टहरुले –
पहिला पनि कहाँ सिमाना देखेका थिए र!
यसर्थ,
सञ्जयहरु पनि हड्तालमा जुटेका छन् –
उनीहरु अव,
कुनै अन्धाको पाउभक्तिमा,
आफ्नो समय उत्सर्ग गर्र्न चाहादैनन्।
र
चाहादैनन्–
पुत्र मोहको नाउँमा,
एउटा सिंगै सभ्यता नासियोस्।
दाउको राजनीति छोडेर,
सकुनी पनि सुधि्रएका छन्।
सभ्यता टिकिरहनु पर्छ भनेर–
दुर्योधन सत्संगमा भिजेका छन्।
इच्छा छैन कसैलाई–
अव कुनै युद्ध चम्कियोस–
र
खरानी बनोस कुरुक्षेत्र।
म चौतारीमा वसेर,
तल हेरिरहेछु –
मेरो देशमा,
हस्तिनापुरमा नभएका–
केही लेन्डुप हरु छन्–
केही लेन्डुप हुन खोज्दैछन्–
र
भरखर जन्मेका केही लेन्डुपरुलाई,
साना नानीहरु–
पुतला बनाएर जलाउदैछन्।