Acharya Prabha – Ma Pardeshinu Ko Ashaya

करुण चित्कार मनमा लिएर
आँशुका थोपाहरुलाई
मुटुको घडामा समेट्दै
बन्धकी हाँसो उकास्न
म परदेशिएको मान्छे ।
बिवसता मेरो नजिक थियो
त्यो क्षण ,
अनी पीडा आफन्त थियो
त्यो पल,
शायद समस्याले जकडिएको
त्यो समयमा आफ्नाहरु पनि
तर्किएर बैरी बने होलान,
मन भौंतारिएर आश्वासनको खोजिमा थियो
शान्त्वनाको पुल बाँधिदिने हातहरु
सुन्यतामा हराए शायद ,
हो यस्तै बाध्यताहरुको कसिमा
आफुलाई बाँधेर म परदेशिएकी छु।
बैरी र अवसरबादिहरुलाई आकर्षणको
फूल चढाउन
म टाढा आइपुगेकी छु ,
मेरो टाडिनुको अर्थ हो
म आकर्षक बनुँ
जस्लाई फेरि बैरी मनहरुले
श्रद्धा र आफ्नोपनको आँखाले नियालोस
घ्रीणा र हिनभावनालाइ पखालेर
एउटा जिवित मान्छे बनोस।