ठीक रोटीजस्तो गोलो
आगोको लप्कोजस्तो लाल
अन्तिम चैतको निर्मल बिहान आज
हजारी धानुकको
पाकेको सुनौलो गहुँको खेत बाट
सूर्य उदायो
श्रमपूर्ण जीवनले
फलपूर्ण पारेको
परिपक्व सुनौलो गहुँको अनन्त फाँटबाट
सूर्य विस्तार–विस्तार
मास्तिर उठ्दै छ
आफूवरिपरिको पृष्ठ
रक्ताभ पार्दै
सूर्य
गहुँको अनन्त स्वर्णमुद्रा मुग्ध हेर्दै
उठ्दै छ
माथि–माथि
र
आली–आली हिँड्दै
हजारी सोच्दै छ
पोहरजस्तो यसपालि
घर अन्न शून्य हुने छैन
आइमाई केटाकेटी
सब अघाउने छन्
कसैको पनि भोको कलेटी
देख्नुपर्ने छैन
खेतहरूमा
उमेर पुगेका सुनौला गहुँ
हँसिया पर्खिरहेछन्
हजारी आली–आली
गद्गद्
लम्कँदै छ
मानिसको
यस्तो खुसीसँग
बाँच्दै आएको छ सङ्घर्ष