Rajab – Yas Karan

म गरिब छु
आफ्नै वर्गको हितमा लड्छु
तर म हुन सक्दिन क्रान्तिकारी
तिम्रो पार्टीमा नभएसम्म
मेरो आफ्नो केही छैन
सवर्हारा हुँ म
लुटेराहरूको हैकममा निर्भर छ मेरो जीवन
त्यस कारण तिनको विनाश गर्ने ध्येय हो मेरो
तर म हुन सक्दिन क्रान्तिकारी
तिम्रो पार्टीमा नभएसम्म
मलाई थाहा छ
शोषकहरूले मेरो जीवन कसरी नाश गरिरहेछन्
त्यस कारण तिनको निर्मूल गर्ने लक्ष्य हो मेरो
तर म हुन सक्दिन क्रान्तिकारी
तिम्रो पार्टीमा नभएसम्म
मैले दुष्टहरूको कानुन
र, सरकार मानेको छैन
गरेको छैन मैले तिनको दासता स्वीकार
तर म हुन सक्दिन क्रान्तिकारी
तिम्रो पार्टीमा नभएसम्म
मसँग अथाह विद्रोह छ
त्यस्तै साहस छ
म आफ्नो अभियानमा अविचल प्रतिबद्ध छु
तर म हुन सक्दिन क्रान्तिकारी
तिम्रो पार्टीमा नभएसम्म
मलाई लाग्दैछ
म गरिब, सर्वहारा, विद्रोही, साहसी
क्रान्तिकारी हुन सक्दिन
तिम्रो पार्टी भएसम्म