Rajab – Samaya Ka Thula Naam Haru

समयका तीन नाम
रात, बिहान र दिन
मात्र उसलाई थाहा छ
अरू ऊ जान्दैन
समयदेखि औधी आतङ्कित छ ऊ
किनभने उसले बिताएको सबै समयले
उसलाई मरेसमरेस पारेको छ
तिनले उसलाई असिना, बाढी, खडेरी
अनिकाल र महामारीमा
जाकेर
डसेका छन्
त्यस कारण ऊ आफ्ना बितेका दिनहरूसँग
नम्र छैन
उसलाई समयका अरू नाम
हिउँद, वर्षा
जाडो, गर्मी थाहा छ
तर समयका चालू गणितीय नामहरू
उसलाई पत्तो छैन
त्यस कारण ऊ भन्न सक्दैन
आफू बाँचेको शताब्दीको नाम र साल
सिर्फ असिना, पानी, खडेरी, अनिकाल र महामारीको
मारले मरेका दिनहरूमात्र थाहा छ उसलाई
समयका अरू ठूला नामहरू
पत्तो पाएको छैन उसले
एकदम साधारण मानिस उसलाई
समयका ठूलाठूला नामको प्रयोजन पनि छैन
वास्तवमा
साधारण मानिसहरूको स्मृतिमा
समयका ठूला नामहरू
संिचत भएका पनि हँदुनै न्
आजसम्मका समयका ठूला नामहरू
साधारण मानिसहरूबाट टाढा छन्
त्यस कारण साधारण मानिसहरूका चासोमा छैनन्
समयका घोषित ठूला नामहरू
जुन समय
साधारण मानिसलाई छोएर ठूलो हुन्छ
त्यही समय
दुई हजार सात साल, पन्ध्र साल, सत्र साल
छत्तीस साल, छयालीस सालझैँ
विस्मृत गर्नेछैन साधारण मानिस