अनुहार
मेरा शब्दहरूले अर्थ गुमाएपछि
म असहाय छु
म वाकरूद्ध भएको छु।
छुवा-छुत र जात-पातको
व्याधिले छटपट्टिदैं छ
समाज
ज्ञानको चिन्तन गर्ने उमेरमा
युवा जमातहरू
तास र मदिरा सेवनमै
आधुनिकता खोजिरहेछन।
सादगी छोडेर
तडक-भडक र यन्त्रनिर्भर भै
दैहिक अव्यवस्था भित्र्याई रहेछन।
यत्तिका दिनहरूमा
हामी धेरै अघिबढ्यौं
पैदल युगबाट
मोबाईल युगसम्म आईपुग्दा
उत्तर आधुनिकताको
संघारमा उभिएको समाज
गरूड पुराणको जालमा
नरक बुनिरहेको छ।
मेरा शब्दहरू
अर्थहीन नभएको भए
अक्षर र मात्राहरू बदल्दै
म तिमीलाई बताउने थिएँ
घोर अँध्यारोमा
ऐनाको सामु उभिएर
मेरो उत्तर आधुनिकता भित्र्याउन
लम्किरहेको समाज
अनुहारको कस्तो श्रृंगार
गरिरहेछ।
बैद्यनाथ उपाध्याय