Philos Sharma Paudel – Sandwich

फिलोस शर्मा पौडेल (स्पन्दन)  – स्यान्ड्विच

अपरिपक्व अक्षरमा उसले
लेखेको पत्र
मैले आफ्नो कोटको
दाहिने गोजीमा राखेकी छु
पत्र लेख्दा उसले भर्खरै
स्यान्ड्विच बनाएको हुनपर्छ
कागज थोत्रो हुनलाग्दा समेत
स्यान्ड्विचको त्यो सुगन्ध उस्तै छ
उसको याद आउँदा
कोटको गोजीबाट
पत्र झिक्छु
पत्रमार्फत उसको हात सुँघ्छु
उसलाई पाउँछु
अनि मन भर्छु
मलाई
उसले बनाएको स्यान्ड्विच
निकै
स्वादिलो लाग्छ
त्यो सुगन्ध
नितान्त आफ्नो लाग्छ