सुनिल घर्ती मगर – रामभरोसको खोजी
कहाँ गयो रामभरोस एक्कासी
छोडेर यो शहर ?
कुनै चोक, गल्ली
मेला, महोत्सव
पार्क, क्याम्पस
कहीकतै देखिदैन अचेल
म त्यो रामभरोसको कुरा गरिरहेछु
जो ठेलामा जीन्दगी बेचेर
प्याज किन्न पनि
दशपटक सोच्नुपर्ने शहरमा
गुजरा चलाउदै आएको थियो
हो, म त्यो रामभरोसको कुरा गरिरहेको छु
जसको ठेलामा हुन्थ्यो
रहर जस्ता मौसमी फलफुलहरू
विद्रोही चटपटे
मोहनी पानीपुरी
अनि सपना जस्ता उडिरहेका बेलुनहरू
हो, म त्यो रामभरोसको कुरा गरिरहेको छु
जो घामपानी , शितलहर
हरेक प्रहर
ठेला ठेल्दै ठेल्दै यतै वरीपरी घुमिरहन्थ्यो
साच्ची कहाँ गयो होला रामभरोस?
किन कसैले खोजेन ?
वा खोज्नु आवश्यक ठानेन ?
आज म घोत्लिरहेछु
उसको बारेमा
ऊ मेरो कोही होइन
तर कोही चाही पक्कै थियो
जसको मिहिनेत देखेर
मलाई मेरै देशमा केही गर्छु भन्ने आट आउथ्यो
जसलाई देखेर
सूर्यले पनि सूर्यग्रहणमा हिम्मत जुटाउथ्यो सायद
औसीले पनि अधेरीमा चन्द्रमाको आश गर्थ्यो सायद
कहाँ गयो रामभरोस ?
के अर्को शहरमा गयो ?
के आफ्नो गाउँ फर्क्यो?
अनुत्तरित प्रश्नहरूको कारख़ानामा
अनायास म अल्झिरहन्छु
एउटा मनले सोच्यो
यो देशमा त ऊ पक्कै छदै छैन
अर्को मनले संभावित कारणसहित थप्यो
अह देशभित्र छ जस्तो लाग्दैन
किनकी अचेल उसको जस्तै ठेला
धुर्मुस फाउन्डेशनले चलाइरहेको छ
उसको जस्तै ठेला
आशिका फ़ाउन्डेशनले चलाइरहेको छ
सायद हुन सक्छ
लिलामीमा बेचेर आफ्नो ठेला
रामभरोस ठीक यतिबेला
कतारको घाममा बेल्चा हान्दैछ
या यूएईको कुनै होटेलमा भाडा माझ्दैछ कि ?
अथवा साउदीको मरुभूमिमा भेड़ा चराउदैछ कि?
वा हुन सक्छ
मलेशियाको जंगलमा साग टिप्दैछ कि ?
कहाँ छ होला ऊ ?
जहाँ छ
सफा शहरमा हिडिरहेकी आफ्नो प्रियसी
र
कृकेट रंगशालामा स्वर्णपदक जित्दै गरेको
आफ्नो बेटाबेटीलाई हेर्ने
स्वर्णिम कल्पनामा पसिना पुछ्दैछ होला