Rajab – Shahar Ra Gaun Ma Bihana

शहरको बिहानमा
चराहरू बोल्दैनन्
त्यस कारण गाउँको र
यहाँ शहरको
बिहानमा फरक छ
गाउँको
बिहानमा
घरका खोपाका चराहरू
दैलि अगाडिको पैयुं को बोटमा
झरिसकेका हुन्छन्
र आँगनमा
फाट्टफुट्ट
छुटेका अन्नका दानाहरू
ताकिरहेका हुन्छन्
फरक छ
शहरको
र गाउँको बिहान
गाउँमा
बिहान हुनेबित्तिकै
चराहरू बोकेर रुखहरू कराउन थाल्छन्
आमाहरू कोप्रामा बच्चाहरू छोडेर
डोकोमा
गाग्री हुलेर
कुवातिर
झर्न र उक्लन थाल्छन्
सूर्यकिरण
पिंढी र तुलसी मठमा
टोलाइरहेको हुन्छ
आँगनमा
पाठा–पाठी र
घरका भुराहरू रमाइरहेका देखिन्छन्
शहरको बिहानमा त
घर–घरका सेरामिक ट्वाइलेट्सका
फ्लसहरू कराउन थाल्छन्
बाहनहरू धूवाँ उडाउन र
मानिसहरू पुनः
दिनभरिको कोलाहलको तयारी गर्न थाल्छन्
मुख्यतः गाउँको बिहानमा
चराहरू
र शहरको बिहानमा
बाहनका इन्जनहरू कराउन थाल्छन्
शहरको बिहानमा
घरघरको छानोले
घरघरलाई छेक्दै
सूर्यकिरण परै बसेको देखिन्छ

२०५२ कात्तिक