Chandika Bhattarai – Pinjada Bhitra Ko Swatantrata

पिंजडा भित्र को स्वतन्त्रता

अब स्वीकार छैन मलाई यो पिंजडा भित्र को स्वतन्त्रता
म पनि खुला आकाश मा उड्न चाहान्छु,
लडेर फेरि आफै उठ्न चाहान्छु।
खानु छैन मलाई यो पिंजडा भित्र बसेर तयारी खाना
म पनि आफ्नै नङ्ग्रा खियाएर खान चाहान्छु,
बरु आधा पेटै किन नहोस्,
म आफ्नै भोक अनुसार को भोजन गर्न चाहन्छु।
यदि यो पिंजडा बाहिर भोका शिकारी हरु
दाउ हेरेर बसेका छन् भने,
म तिनको सामना आफै गर्न चाहन्छु,
सुरक्षा को नाउँमा यो पिंजडा भित्र थुन्न नखोज मलाई,
बरु ति गिद्धे नजर लगाउनेहरु सँग लड्न सिकाउ,
लडेर जित्न सिकाउ,
आत्म रक्षा गर्न सिकाउ,
आत्म स्वाभिमान बढाउन सिकाउ।
मान्न सक्दिन म यो पिंजडालाई आफ्नो संसार
मलाई पनि देख्नु छ पिंजडा बाहिर को संसार,
एउटा पिंजडा बाट अर्को पिंजडमा नसार मलाई,
आफ्नो मर्जिको मालिक आफै भइ हेर्न देउ
यो संसारको सुन्दरता मलाई।
नादान छौ, नाजुक छौ भनि कमजोर सावित गर्न नखोज मलाई
म आफ्नै जिवनको भोगाइबाट सिक्न चाहान्छु,
म आफै भित्रको विश्वास जगाइ समयसँग भिड्न चाहान्छु।
मलाई बिलकुल मञ्जुर छैन अब
मेरो जिवनमा कसैको हस्तक्षेप,
म केबल आफ्नै सर्तमा आफ्नो जिवन आफै जिउन चाहन्छु।
मेरो बोलाइ,खुवाइ, लगाइ, हिँडाइमा नियन्त्रण गर्न नखोज
म आफुलाई केबल आफु नै भएको हेर्न चाहान्छु।
तिम्रो यो पिंजडा भित्र जति नै उडेपनि म रमाउन सक्दिन,
तिमिले यो पिंजडा भित्र जति नै स्वतन्त्रता दिए पनि म स्वतन्त्र हुन सक्दिन।
म कसरी बस्न सक्छु र सिमाभित्र जब असिमित सपनाहरु छन् मेरा आँखामा?
म कसरी बाँधिन सक्छु र बन्धनमा जब अनियन्त्रित कल्पनाहरु छन् मेरो मनमा?
त्यसैले अब स्वीकार छैन मलाई यो पिंजडा भित्र को स्वतन्त्रता,
म यो ठूलो धर्ती घुम्न चाहन्छु,यो शितल पवनको स्पर्श महसुस गर्न चाहन्छु,
पखेटा फिजाइ आफ्नै, चारै तिर डुल्न चाहन्छु।

यो पिंजडा भित्र रुमलिएर कति वसन्त यसै पार गरे मैले
न नियाल्न पाएँ ति फूलहरू मुस्काएको,
न हेरेँ कहिले ति पालुवा सँगै पलाएको मेरो रहर
ति पुतली झैँ निसङ्कोच उड्ने रहर,
सुन्दर पखेटा फरफर पार्दै स्वतन्त्रत उड्ने रहर।
त्यसैले स्वीकार छैन मलाई अब यो पिंजडा भित्र को स्वतन्त्रता,
बन्नु छैन मलाई कसैको मनोरञ्जन को साधन,
नबन्नु छ अर्हाएको काम सुरुक्क मान्ने रोबोट
मेशिन जसरी तिम्रो इशारामा अब नाँच्न चाहान्न म,
तिम्रो पिंजडा मा तिमिसँग,
तिम्रो इच्छा अनुसार अब बाँच्न चाहान्न म
म कसैको जिम्मेवारी भएर होइन,
जिम्मेवार प्राणी भएर बाँच्न चाहन्छु,
म केबल स्वतन्त्र भएर हाँस्न चाहान्छु।।