डा. सूरज निरौला – गणितिय जीवन
किन बुझेनौ जीवन गणित ?
किन उफ्रिन्छौ यसरी?
के नै पाए झै गरि ।
गज्जब छ बा !
जिरो बाटै शुरू हुने
जीवन यात्राको
अङ्क तालिकामा
त्यहि २,४ अङ्क जोडिए होलान् ।
फेरी २,४ अङ्क घटेरै गए होलान् ।
ट्रान्सभर्स तरङ्ग झै तरङ्ग लम्बाई
कहिले अग्लिए त कहिले होचिए होलान्।
यो जोड घटाउको यात्रा त बस्
जिरोको गुणन पर्खिरहेछ ।
उठान र समाप्तिको दुई जिरोहरु
बीचको जीवन, अकं गणित पो रहेछ ।
कहिले तिम्रो प्लस चल्दोरहेछ,
कहिले तिम्रो माइनस् चल्दोरहेछ ।
हाँस ! कति सक्छौ हाँस,
नाँच ! कति सक्छौ नाँच ।
तिम्रा नाफाहरु सम्हाल,
मुनाफाहरु बटुल ।
अनि फेरि,
रोऊ ! कति सक्छौ रोऊ ।
आक्रोशका दिवार तोड,
जोडिएका नाता फोड ।
तिम्रा घाटाहरु भर्पाइ गरेर राख,
ऋणहरु चुक्ता गर ।
अन्तत ति सब्,
जिरोको गुणनमा पर्नु नै छ ।
गणितीय जीवन एकदिन
जिरो मै अन्त्य हुनु नै छ ।
के लिएर आएका थियौ
के लिएर जानेछौ ?
के धनि, के गरिब ?
पाउनैको लागि
किन राख्छौ आँशु गहभरि ।
के हो तिम्रो र हरायो ?
खोजि हिड्छौ यसरि ।
के जित, के हार !
किन दौडन्छौ त्यसरि
के मधेसी, के पहाडी !
किन लड्छौ यसरि ?
पुग्ने त आखिर
एकै ठाउँ हो कसैगरि ।
व्यर्थ किन् आतिन्छौ ?
अघि र पछिको जीवनको
हाइपोथेसिस् बराबर पर्नु नै त छ ।
गणितीय जीवन एकदिन
जिरो मै समाहित हुनु नै छ ।
श्रृष्टीको हर जीवन,
घुमिरहेछ शुन्य वरिपरि ।
केन्द्रबिन्दु शुन्य मै
डोहोर्याईरहेछ आफ्नै परिधि ।
घटिरहेछ व्यास यसका हर घडि ।
कमजोरीदै छन् पलपल्
सूर्यको किरण सगैं जलि ।
उडनु नै त रहेछ शेष, खरानी बनि ।
किन पीर गर्छौ जीवनको ?
भागफल र गुणनफल शुन्य
आउनु नै त छ ।
जीवन गणितको शेषाङ्क
आखिर शून्यै रहनु नै त छ ।
शून्य मै मिलन हुनु नै त छ ।
अनि,
उहि शून्यमा विलिन् हुनु नै त छ ।
(हाल : पाख्रीवास)