Shiva Prakash – Sukha Ko Paryaya

मात्तिएका यौवनहरु
पात्तिएका जीवनहरु
आधुनिकता भित्र
यौनका नवीन सँस्करण
घामजूनको पर्वाह छैन
वसन्तको उन्मादलाई जिस्क्याउँदै
छताछुल्ल पोखिन्छन्
सभ्यताको आडम्बर ओढेको
सभ्य शहरभित्र
समय
आधुनिकतको
उत्ताउलो रहरमा रमाइरहेछ छ ।

आधुनिकताभित्र
जीवनको अर्थ – रोमान्स
यौन साधनामा समाधिस्थ
रहरलाग्दा युवा युवतीहरु
डरलाग्दा मुद्रामा
साधनारत
यौवनको राग
फूलको मदमोहकता जस्तै
मादोन्मात
जीवनलाई साँधिरेहछन्
चाखिरहेछन्
जीवनका क्षणीक स्वादहरुमा
सुखानुभूत बाँचिरहेछन् ।

सयमले उत्ताउलो रहर बोकेको
आधुनिकताभित्र
बाँच्नुको पर्याय – सुख !
सुखको पर्याय – सम्भोग !
भोकभन्दा बढी भोग
आवश्यकताभन्दा अझ बढी
रहर बनेको छ
जीवनयापनभित्र जीवनपान
समय नै यस्तो छ
समयको यो उत्ताउलो रहरसँग
मालाई पनि कताकता
मात्तिनँपात्तिन मन लागेको छ
भोकभन्दा बढी भोग
सुखको पर्याय – सम्भोग !

बोस्टन, अमेरिका