Shiva Prakash – Andho Chha Ishwar Aja Pani

बाँचिरहेछन्
शकुनीहरु मान्छेभित्र
फैलाउँदै पासापाजा कुटिलताका
लेखिरहेछन् झूठो कथा महाभारतको
मरेका छैनन् दूर्योधन दुशासनहरु
चिथोर्दै द्रौपदीहरु
हाँसिरहेछन् भारी सभामा
बनाउँदै लाक्षागृहहरु
मान्छेका वस्तीमा
गर्जिरहेछन् आज पनि ।
जिउँदैछन् रावणहरु
नांगो नाचिरहेछन् मान्छेभित्र
किचिरहेछन् निर्धाहरु
अत्याचारका गदाले
निरिह हेरिरहेछन् हनुमानहरु
वैदेही हरण
जटायु मरण
टुलुटुलु आज पनि ।
दुन्दुभि कोहालहको बजाउँदै
घुमिरेहछन् कंशहरु
मरेका छैनन्
मान्छेभित्र हाँसिरहेछन् आज पनि
नदेखेको ईश्वर
ग्रन्थका मिथकहरु
अन्धाधुन्ध मानिरहेछ मान्छे
आज पनि ।
ईश्वर !
किन बाँचिरहेछन् शकुनीहरु !
किन नाचिरहेछन् रावणहरु !
किन हाँसिरहेछन् कंशहरु !
किन गर्जिहरेछन् कौरवहरु !
अदृश्य छ ईश्वर !
कि ईश्वरभित्र भ्रम छ
कि भ्रमभित्र ईश्वर !
कि बाँचेर पनि
अन्धो छ ईश्वर आज पनि ।

बोस्टन, अमेरिका