डा. सूरज निरौला – खोई के लेख्न सक्छु र कविता
कहाँ हरायो मेरो देश ?
बलि राजाले सर्वश्व दान गरेको देश
गौतम बुद्धले सन्यास लिएको देश ।
गरिब दुःखीलाई आफ्नै तलब बाडने
लप्रदे जन्माउने यो देश ।
मान, इज्जत र प्रतिष्ठा बेचेर
पैशाको होडबाजीमा लडिरहने
योद्धाहरुको उदगम स्थल बनेको छ ।
ह्रदय बिनाका यान्त्रिक मानवहरुको
बिच सिद्रा झै चेपिएको म,
खोई के लेख्न सक्छु र कविता ।
कहाँ गयो मेरो शिक्षा ?
पढेको छु, पाइदिन जागिर कतै,
खोज्दा अनुभव माग्छन सधै ।
नथालिएको कार्यको अनुभव ल्याउ कसरी,
सोर्सफोर्स नभई जागिर खाऊ कसरी,
लाग्छ पलायन भई जाऊ अन्तै ।
घुस खुवाउन असमर्थ लाचार, बेरोजगार,
अनि बरालिदै हिड्ने थकित
शिक्षित वेरोजगार म,
खोई के लेख्न सक्छु र कविता ।
कसरी म स्वस्थ्य हुनसक्छु ?
मेरो पसिना को कमाइ काटेर
देशको राजस्व बढाउने,
आफ्नै उपचार गर्न जादा
ऋणमा चुर्लुम्मै डुबाउने ।
सेवामा भन्दा मेवामा लोभिने चिकित्सकहरु
प्राइभेट क्लिनिकमा भेट्न सल्लाह दिने ।
रोगीले निशुल्क औषधि उपचार पाउने
नेताको भाषण सुन्दा
अमिलिएको मन सगैं
थलिएको सिकिस्त विरामी म,
खोई के लेख्न सक्छु र कविता ।
कसरी सोच्न सक्छु म यो देश ?
आधुनिक युग पार गर्दै,
फिङ्गर टिप्स मै साँगुरीदै
कटेम्पोररि युगमा आइसक्दा,
भोका र नाङ्गा छोराछोरी पाल्न,
विहान उठी खाना र कपडाको
खोजीमा तल्लिन अझै
जङ्गली अवस्थाको मजबुर नेपाली म,
खोइ के लेख्न सक्छु र कविता ।