चन्डिका भट्टराई – ऐना भित्रको मान्छे
अनायासै मेरा आँखा, अर्का जोडि आँखासंग ठोकिए,
म एकछिन रोकिएँ,
अनि हेरे टक्क अडेर,
नियाले धेरै बेर छक्क परेर,
आश्चर्य!
ऐना भित्रको मान्छे म जस्तै देखिन्छ,
उहि रुप,
उहि रङग,
अनि उस्तै हाउभाउ।
म हल्लिदा उ पनि हल्लिन्छ।
म बस्दा उ पनि बस्छ।
अनुहार पनि मेरै जस्तो
त्यो ऐना भित्रको मान्छेको।
होइन, त्यो मेरो अनुहार कसरी हुनसक्छ ?
मलाई त सबैले ‘तिमि कति हसिलि’ छौ भन्छन्,
तर त्यो ऐना भित्रको अनुहार त हाँस्नै बिर्सिए जस्तो देखिन्छ।
कद सँगै बढेको पद,
अनि पद सँगै बढेको जिम्मेवारी।
ति जिम्मेवारी निभाउदा निभाउदै
बर्षौ देखि नहाँसेको जस्तो अनुहार।
सायद् हाँस्न बिर्सिसक्यो त्यो ऐना भित्रको मान्छेले।
आँखा पनि मेरै जस्ता
त्यो ऐना भित्रको मान्छेको।
अह ! ति कसरि हुनसक्छन् मेरा आँखा?
हरेक रात मेरा स्वामीले अँगालोमा बेर्दै भन्नुहुन्छ मलाई,
‘तिम्रा आँखा सार्ै चमकिला र चञ्चल छन्,
अन्धकारमा पनि चम्कन्छन,
झिमझिम गर्दै कति बोल्छन् तिम्रा आँखा।
तर ति ऐना भित्रका आँखा त शिथिल र शान्त छन्।
सबैका सपना आफ्ना बनाउदा बनाउदै
सपना देख्नै बिर्सिएका जस्ता आँखा।
हरेक पल अरुका लागि झिमकिदा झिमकिदै
झिमकिन नै गार्हो भएका जस्ता आँखा।
सायद् झिमकिनै नपरे हुन्थ्यो जस्तो लाग्छ ति आँखालाई।
अहो! हेर्दा म जस्तै देखिन्छ
त्यो ऐना भित्रको मान्छे।
तर त्यो म कसरी हुनसक्छु ?
मेरो घरमा पाहुना लाग्न आउने सबैले मलाई भन्छन्,
‘यिनी कहिल्यै थाक्दिनन् ‘
घर परिवारको काममा सधैं व्यस्त,
फुर्सदसँग कोसौ टाढा,
दिनहुँ को कामकाजमा निकै अभ्यस्त।
तर कति थकित र निहत्ता देखिन्छ
त्यो एेनाभित्रको मान्छे।
आफुलाई भन्दा बढी आफन्तलाई
माया गर्दागर्दै थाकेको मान्छे,
आफ्ना रहरहरुको बलि चढाइ
आफ्ना हरुका लागि बाँचेको मान्छे,
आफुलाई बिर्सिएर आफ्नै जिवनसँग हारेको मान्छे।
हो मेरै जस्ता आँखा,
मेरै जस्तो अनुहार,
तर म होइन त्यो ऐना भित्रको मान्छे।
म होइन त्यो ऐना भित्रको मान्छे।
काठमाडौं।