Shiva Prakash – Sahamati

सहमति !
सहमतिका लागि
सहमतिबाट सुरु हुन्छ
र, सहमतिका लागि सहमति बन्छ
सहमति पछि
सहमति तोड्ने अर्को सहमति हुन्छ ।

सहमति !
एउटा निरन्तर क्रम हो
र, सहमति
एउटा निरन्तर भ्रम पनि हो ।

सहमति !
सरकार बनाउँन चाहिन्छ
सरकार चलाउँन चाहिन्छ
सरकार बचाउँन चाहिन्छ
सरकार गिराउन पनि चाहिन्छ
र सहमति,
सहबासका लागि पनि चाहिन्छ ।

सहमति !
क्रान्तिका लागि हुन्छ
शान्तिका लागि हुन्छ
र सहमति,
स्वार्थका लागि पनि हुन्छ ।
सहमति !
साधु-साधुबीच हुन्छ
चोर-चोरबीच हुन्छ
र सहमति,
साधु र चोरबीच पनि हुन्छ ।
सहमति !
नेता-नेताबीच हुन्छ
सहमति वेश्या-वेश्याबीच
र सहमति,
वेश्या र महात्माबीच पनि हुन्छ ।

सहमति !
महलहरुमा हुन्छ
सिंहदरबारहरुमा हुन्छ
दरबारहरुमा हुन्छ
र सहमति,
वेश्याबजारहरुमा पनि हुन्छ ।

चलेको छ –
मान्छे, संसार र समय,
सँस्कार र सहबास
सम्पुर्ण सहमतिमा !