Baidyanath Upadhyaya – Amritasaya Putra

वैद्यनाथ उपाध्याय – अमृतस्य पुत्रा

हजारौं पीडा खपेर पनि
मान्छे बाँचेकै हुन्छ।
गल्ली, बाटा र दोबाटोहरूमा
बाँच्न को लागि के के सामल
बटुलिरहेकै हुन्छ।
कसैलाई सामुन्ने देख्दा
रूञ्चे हाँसो हाँसि रहेकै हुन्छ।
कसैले कस्तो छ भनेर
सोधि हालेछ भने
ठीकै छ भनेर फुस्स
हाँसिरहेकै हुन्छ।
त्यो पीडा र ठीकै हुनुबीच
कोसौं को फासला भए पनि
आशा अझ साँचिरहेकै हुन्छ।
कस्ता कस्ता चोटहरू खपेर पनि
मान्छे ले कहिले पो हार मानो र !
यन्त्रणामा छटपटिएर
बरू उ मर्न सक्छ
तर मान्छे पराजित कहिल्यै हुँदैन।
शायद,
त्यसैले वाङ्मयकारहरूले
भने होलान
अमृतस्य पुत्रा!