दामोदर पुडासैनी किशोर – नधोइने हाते रूमाल
मेरो हाते रूमाल
अब कहिल्यै धुनें छैन
बरू टाँस्नेछु पोस्टर बनाएर
बैठक कोठाको सुन्दर भित्तामा
त्यो दिन
तिमीले सुम्पेको थियौ आफ्ना सबै कुरा
मैले सुम्पेको थिएँ आफ्ना सबै कुरा
सबैकुरा सुम्पेपछि
भएका थियौ हामी
म तिमीजस्तो र तिमी म जस्तो
हामीसँग शब्द थिएनन् समर्पणको
पर्दाहरू हराइसकेका थिए हामी दुई बीचको
साटिन आतुर थिए मुटुहरू
ठीक त्यसैबेला
बिजुली चम्कियो मायाको सँसारमा
सुन्दर बतास चल्यो हाम्रो अँग अँगमा
थाहै नपाई चुमिरहेथे ओठहरूले
मायाको स्वाद चाखिरहेथे हामी दुबैका जिभ्रोहरूले
युद्ध होइन
समर्पणको होडबाजी चल्यो निकैबेर
तिमीले दियौ एउटा सुन्दर सँसार
मैले दिएँ मेरो सारा सँसार
मायाको तलाउमा पौडेर
किनारमा बस्दा पो देखियो
कि तिम्रो सम्पूर्ण लिप्स्टिक
सजिएको रहेछ मेरो ओठमा
मैले पुछिन त्यसलाई
बरू सजाएँ हाते रूमालमा
मेरो हाते रूमालको लिप्स्टिक जडित चित्रमा
निरन्तर चलायमान छ तिम्रो उपस्थिति
निरन्तर चुम्न खोज्दैछन् तिम्रा ओठहरूले
निरन्तर बर्षाँउँन खोज्दैछ्यौ तिमीले माया
यसबेला कहाँ धुन सक्छु म मेरो हाते रूमाल
जसमा निरन्तर पाइरहेछु मैले तिम्रो स्पर्श र तिम्रो सजीव चित्र
अहिले भर्खरै
मेरो बैठक कोठाको भित्तामा टाँगिएको छ
रूमालको एउटा सुन्दर पोस्टर
त्यही पोस्टर टाँसिएको छ
मेरो मुटुको भित्तामा पनि
तिम्रो मुटुको भित्तामा
म टाँसिँएँ ?
या फुटेँ असफल सिसा जस्तो ?
-२०७६ असार १८ गते बुधवार
ग्वँग:बुँ,नयाँबसपार्क ,काठमाडौ