दामोदर पुडासैनी किशोर – पहाड र आमाहरू
आमाहरू
पहाडहरू हुनुहुन्थ्यो
जीवनभर हामीलाई सिकाइरहनुभयो
पहाडनै बन्न
आमाहरूलाई
भोकले जिस्क्याइरहन्थ्यो
फर्की फर्की आएर दाह्रा धसिरहन्थ्यो
शोक र सुर्ताले
आमाहरू
भोकलाई सुकुटी बनाउँन सुकाइरहनुहु्थ्यो
चिशा छिंडीहरूमा र चिल्थरा टालेका कपडाहरूमा
र शोकहरूलाई कुल्चदै कुल्चदै
केही न केही बिउका पाँजाहरू रोपिरहनुहुन्थ्यो
जाँगरका भेलहरू नसा नसामा बगाएर
आमाहरू हुनुहुन्थ्यो
पहाडजस्तो
र ,स साना छुनुमुने नानीजस्तो
रिसाउँदा पनि सत्य बोल्नुहु्न्थ्यो
खुशाउँदा त बुनिरहनुहुन्थ्यो
सत्यका बिशाल बुट्टाहरू
आमाहरूबाट
मायाको मुल निस्कँदा
सफा ,स्वच्छ र निस्वार्थी थियो
प्रेम भन्ने कुरा
जब आमाबाट निस्केर अरूको हातमा पुग्यो
तब प्रेमनै कालो ,छिरबिरे र काँडादार बन्यो
कयौ हुरी ,कम्प र प्रलय आउँदा
दह्रिलो मेरूदण्ड बनेर
छेकिरहनुभयो आमाहरूले
र जीवनभर कसैले हल्लाउँन नसक्ने
पहाड बन्नु भन्नुभयो हामीहरूलाई
आमाहरू सम्झेपछि
पहाडहरूपनि लाग्छन्
आमाहरूजस्तै
उज्याला,स्नेही र उर्जाशील
अचेल आमाहरूको अभाब
मेटाइदिन्छन्
पहाडहरूले
नियालेर हेर्नुस् त
हरेक पहाडहरूमा
आमाहरू
मुस्काउँदै मुस्काउँदै
उकालो चढिरहेका हुन्छन्
म अहिले आमाका सुन्दर सँझनाहरू
साट्ने गर्छु
पहाडका गोरेटा ,फूलका थुँगा
र ,चराका आवाजहरूसँग
आमाहरू
आकाशभरि फैलिनुभयो
र धर्तिभरि उम्रनुभयो
आमाहरूकै निशर्त मायामा
म आफ्नो अनुहारलाई
बनाउँन खोज्दैछु
पहाडझैँ रँगिन र पहाडझैँ उज्यालो
२०७६ बैशाख २१ शनिबार
ग्वँग:बुँ ,नयाँबसपार्क,काठमाडौ