Sarita Tiwari – Majuwa Pokhari Ko Kinar Ma Ubhiyera

सरिता तिवारी – मजुवा पोखरीको किनारमा उभिएर

यो हावामा
उनीहरूको मृत्युअघिको अन्तिम चीत्कार छ
उनीहरूको हृदयबाट निस्केको अन्तिम आह ! छ

पसिनाम्य लखेटाईपछि जो लडाइए भुईंमा र झम्टिइए
मृगको पाठोलाई भोको बाघले झम्टिएझैं !

यो हावामा
यो गाउँ ,यो बस्ती ,यो सारा जगतसँग गरेको
अन्तिम गुहार छ उनीहरूको
जसले मानिसहरूको विवेकका
आखिरी किनारहरूमा पुग्ने
भीषण कम्पन छोडेको थियो यहीँबाट

तर कहांसम्म पुगेर फर्कियो त्यो कम्पन ?
कसैले भन्छ?
ककसलाई हल्लाएर छोडेको छ त्यसको तरङ्गले?

जबकि ,
हामीलाई थाहै छ,
मानिसहरू
कसरी चलाउछन बजारमा सरमको मण्डी !
कसरी साट्छन अज्ञात लोभहरूसित बुद्धिका पेचकिला !

मौन छ यो हावा
तपस्यामा मग्न जोगीझैं

हज्जारौं पल्ट सोध्नुस
केही बोल्नेवाला छैन यो
न दिन सक्छ अभियुक्तको कुनै हुलिया
न भन्न सक्छ घटनाको साबुत विवरण

कारण
छैन यो हावासँग कुनै भाषा
छैन शब्दहरूको क्रीडाभूमिजस्तो ओठ,
छैन जोखिमहरूको साइरनबीच पनि बौरिएर उठ्ने हृदय
छैन तीन पौण्डको तौलमा विवेकको संग्रहालय सजाउन सक्ने
त्यस्तो अदभूत र विलक्षण गिदी

यद्यपि यी जम्मै कुरा भएर पनि
मानिसहरू यस्तरी मौन छन्
मानौं यो कुनै मौनब्रतको स्पर्धा चलिरहेको युग हो…

** **

‘पज’ बटन दबिएर
चुपो लागेर उँघिरहेको घण्टाघर जस्तो
प्रतिक्रियाहीन यो पोखरी !

यहाँ केवल लेउको साम्राज्य छ अब
यो नीलो नीलो पानीमाथी
म देख्छु नाङ्गा आँखैले
एउटा अकथनीय कथा
हाडमांसको सिंगो सबुत बनेर उभिरहेको !

कस्तो दिगमिगलाग्दो यो पानी !
कति कुरुप हो यो पानीको छाया !
कति भयावह हो
पानीभित्र पौडँदै हिँडिरहेको सूर्यको प्रतिबिम्ब !

मान्नुहोस्
जीवनका सारा सौर्न्दर्यले आत्मसमर्पण गरेको ठाउँ हो यो
कति डरलाग्दा लाग्छन् यहाँ
उनीहरूका प्रलाप निचोरिएर उछिट्टिएका चित्कारका चोक्टाहरू
जो अल्झिन्छन तपाईंको प्रत्येक पाइलामा
र सोध्छन् प्रेतझैं जुरुक्क उठेर
तपाईं कुन पक्षमा हुनुहुन्छ –
न्यायको या शक्तिको?

सबका सब ओठहरू बन्द छन् ,यो अर्कै कुरा हो
शब्दहरूले छुद्र ढाल बोकेर हिँडेका छन् ,यो अर्कै कुरा हो
शब्दहरू षडयन्त्र र कुटनीतिको भुमरीमा फँसिसकेका छन् ,यो पनि अर्कै कुरा हो

तर साक्षी आँखालाई थाहा छ-
उनीहरूका मृत देहमा
ओठहरू काट्टिएका थिए !
जीब्राहरू सुन्निएका थिए !
र बगिरहेको थियो योनिबाट
धर्तीको आत्मा च्यातिएर निस्केको लाभाजस्तो रक्तधारा!

यी रुखहरूले देखेका होलान्
कसरी लुछिए तिनका छाला !
कसरी च्यात्तिए कोमल गालाका लाली!
कसरी खोलिए तिनका एक एक वस्त्र
र पारिए तिनीहरू निर्वस्त्र, नग्न !
फाट्टिए कसरी उनीहरूका जाँघ
र पस्यो एकाएक कुनै सुरुङ मार्गभित्र छिरेको
सर्पाकार ट्रेनजस्तो
रहस्यमय त्यो ‘कीरा’ !

पोस्टमार्टम रिपोर्टमा भनिएको छ-
यो नृशंस हत्याको एकमात्र अभियुक्त
त्यही क्रूर ‘कीरो’ हो

र बाँकी जम्मै तथ्यहरूमाथि मौन छ डाक्टर !

त्यो कीरो जसलाई संसारको कुनै जीव विज्ञानीले चिनेको छैन
आजसम्म
तर चिनेका छन् कोखिलामा हत्यारो अनुहार लुकाएर
न्यायको गुड्डी हाँक्ने प्रशासकले
डाक्टर ,वकिल ,’समाजसेवी’ सबैले!

त्यही ‘कीरोकथा’ भित्र लुकेको छ
हज्जारौं तहहरूले खाँदिएर बनेको
फोसिलभन्दा पनि आदिम
भयंकर सत्य !

** **

उभिएर यो पोखरीको छेउमा
हेर्दाहेर्दै –
म देख्दैछु पानीको सतहमा
सहस्र जुगभरीका योनीहरूको जुलुस तैरिरहेको
म देख्छु एकाएक पानीभित्रैबाट
विष्फोटको भयानक म्याग्मा लेदो बनेर निस्किरहेको

रोकिने छैन निश्चय पनि यो जुलुस
औडाहा र उत्तापको आँधी जब बन्ने छ बबण्डर
कसैले थेग्न सक्ने छैन प्रश्नैप्रश्नका कोलाहलको बाढी
आधा पृथ्वी उचालिएर उठेको
योनीहरूको एकमुष्ट , विशाल हुण्डरीले
जब बाध्य पार्ने छ,
एकदिन
सहस्र धैर्यको बाँध फुटाएर बाउने छ
कहिल्यै केही नबोल्ने हावाले पनि आफ्नो मुख
तब उघ्रने छ सत्यको अन्तिम पर्दा
च्यात्तिने छ
‘अभियुक्त कीराहरूको’ यो कपोलकल्पित संकथन

एकदिन पराजित हुनुपर्ने छ यी सारा झुठहरूले !
सारा षड्यन्त्रले ,सारा खेलहरूले

र जित्नुपर्ने छ उनीहरूले
जसले
आफूसँग एक योनी हुनुकै ‘अपराध’ मा
अनाहक पाएका छन्
बीभत्स मृत्युदण्ड !

* मजुवा पोखरी – चितवनको माडीस्थित एउटा पोखरी जहाँ दीपिका(९)- दीपशीला (११) को बलात्कारपछि हत्या गरिएको थियो ।