Raju Syangtan – Sawari Chha

राजु स्याङ्तान – सवारी

वडा अध्यक्षको निर्दयी डोजरले
आँगनको चिउरी उखेलेपछि
गुहार माग्न सिंहदरबार खोज्दै हिँडेको
धनबहादुर चेपाङलाई
बबरमहलको खुला रोडमा
प्रहरीले धकेल्दै भन्यो–
‘सवारी छ’

६ वर्षीया छोरीको
बलात्कार र हत्यापछि
रक्ताम्य जामा र पुतली
सबुतका लागि झोलामा बोकेर
न्याय खोज्दै काठमाडौँ आइपुगेका
नेत्रबहादुर परियारलाई
कलंकीको आकाशे पुलैपुल
प्रहरीले लखेट्दै भन्यो–
‘सवारी छ’

पोहोर दाइजो नल्याएको निउमा
जिउँदै जलाएर मार्यो धनीरामकी बेटी
यसपालि विदेशबाट
बाकसमा आयो धनीरामकै बेटा
त्यही बाकस माथि टाउको ठोकेर
रोइरहेका धनीराम मुसहरलाई
विमानस्थलबाट लखेट्दै प्रहरीले भन्यो–
‘सवारी छ’

समुद्रपारीको अनाम सहरबाट
बुर्काभित्र गर्भ बोकेर
मानसिक सन्तुलन गुमाई
अरबी भाषा बोल्दै विमानस्थल ओर्लिएकी
मसिनीमाया लिम्बुको
चुल्ठोमा समाउँदै प्रहरीले भन्यो–
‘सवारी छ’

देशले ‘हाइब्रिड’ बीउ रोपेर गरिबी फलायो
गुन्जमान महर्जनले पसिना रोपेर धनियाँ फलायो
त्यही धनियाँ खर्पनभरी बोकेर
सहर झरिरहेका गुन्जमानलाई
बागमतीको किनारैकिनार लखेट्दै प्रहरीले भन्यो
‘सवारी छ’

तामाकोशीको तिरैतिर
जुटको बोरा फाटिन्जेल
ढाडको छाला खुईलिन्जेल
ढुंगाको भारी बोक्दाबोक्दै
क्षयरोगले निख्रिएको शरीर लिएर
एक झल्को श्रीपेच हेर्ने रहरले
नारायणहिटी पुगेका बिकमान थामीलाई
ठमेलतिर लखेट्दै प्रहरीले भन्यो
‘सवारी छ’

देशमा गणतन्त्र आयो भन्दै
पिपा बाजेले बनाएको दरबारमा
अब त बाजेको पनि नाम लेखियो ठानेर
टोटोलाको फूल निधारमा टाँसी
डाँडाको छ्योर्तेन तीन फन्को घुम्दै
खुसीले डम्फू बजाउँदै बजाउँदै
टुँडिखेल आइपुगेका सुर्जेमान तामाङलाई
घोक्रेठ्याक लगाउँदै प्रहरीले भन्यो
‘सवारी छ’

सहरमा रातदिन सवारी छ
सहरमा साँझबिहान सवारी छ
कहिले महामहिमको सवारी
कहिले सम्माननीयको सवारी
कहिले माननीयको सवारी
कहिले पुजनीयको सवारी
यताबाट उता सवारी
उताबाट यता सवारी

तर, देश
युगौंदेखि
जहाँको त्यहीँ छ