Raju Syangtyan – Remittance

राजु स्याङ्तान – रेमिट्यान्स

आरुको बोटमा झुण्डिरहने
एउटा रक्ताम्य कमिजथियो
हिजो बेलुकी हरायो
कसैले थाहा पाएन
सहिदगेटमा
धुम्धुम्ती टोलाइरहने
एउटा बेनाम शहीद थियो
त्यो पनि हरायो
कसैले वास्तै गरेन
ब्रिफकेसले च्यापेको घाइते झण्डा
मैलो कट्टुसँगै झुण्डिएर
झोक्राइरहन्थ्यो हर साँझ
मन्त्रीज्यूको कौसीमा
त्यो पनि एकाएक हरायो
लागेन कर्फ्यू शहरमा
कालापानीको डिलमा
एकलास मुर्झाइरहने
एउटा जंगेपिलर थियो
त्यो पनि हरायो
गाएन कसैले राष्ट्रियगान
खेतका गराहरूमा
कमिलासँग लाप्पा खेल्दै
नुन पर्खिरहने
एक टुक्रा रोटी थियो
त्यो पनि हरायो
भेला भएन
चौतारीमा कोही पनि
डाँफेको प्वाँख हराउन सक्छ अब
चुलीमा हिउँ हराउन सक्छ अब
राहदानीसँगै
अलिकति देश च्यापेर
प्रत्येक दिन उड्ने विमानसँगै
एक दिन यो संसारबाटै
नेपाल हराउन सक्छ अब
महोदय !
अनि तपार्इं
कुन देशमा बसेर गन्नुहुन्छ
रेमिट्यान्स ?