दामोदर पुडासैनी किशोर – बधशालाको ढोकामा
फरक दिशामा फर्किरहेका बगरेहरू
म पुगेको चाल पाएर
फैलाए सम्बन्धको हात
मुसुक्क मुस्कुराए
र बलियोसंग समाते
खुँडा र खुकुरी
बधशालाको बाहिरतिर
निष्फक्री घाँस चपाइरहेथे
हाम्रै साथीहरू
भित्र भने
आँखा,खुट्टा ,जिभ्रो,छाति र फल मासुमा
बिभाजित हुँदैथे असँख्य साथीहरू
जीवन रित्याएर जीवन किन्नेहरू
आइरहेछन्
झोलुँगे पुलबाट हल्लँदै
बाटोहरूमा धुलो उडाउँदै
सकेसम्म धेरै झोलाहरू भिरेर
मार हान्ने बेलामा
गलामा गला मिलाउँछन् बगरेहरू
जब काटिन्छन् खशी बोका
तब शुरू हुन्छ दन्त बजान
ठीक त्यसै बेला
फालिएका हड्डीका टुक्राहरू लुछालुछ गर्दै
टोकाटोक गर्छन् कुकुरहरू
सूर्यमुखी उम्रने माटो
पुरिएको छ
दूर्घन्धी रगतले
म रगतमाथि उभिएर
हेर्दैछु जिन्दगीको अन्तिम चर्तिकला
बधशालाको ढोकामा
छरिएको छ एक थुप्रो कलिलो घाँस
म चपाउँदैछु घाँसको अन्तिम जीवन
र सुन्दैछु भित्रपट्टी
घाँटी छिनेपछिका साथीहरूको छटपटी
बगरेहरू र क्रेताहरू
पुराण भट्याउँदैछन्
मेरो निख्खरा रँगको
मेरो ओजनदार मासुको
र मेरो मासुको स्वादको
तिनीहरू कसैको पनि
दिमागमा पसेको छैन
कति महत्व हुन्छ
जिन्दगीको एक क्षणको
भर्खरै मलाईपनि
डोर्याइएकोछ बधशालाभित्र
उज्याइएको छ धारिलो खुकुरी
मेरै गर्दनमाथि
हात हातमा भाँडा च्यापेर
थाप्न तम्तयार छन् कोही
मेरै रगतका फाल्साहरू
प्रिय बगरेहरू
किन दिन दिनै टुक्रा टुक्रा पार्न खोज्दैछौ देशलाई
र किन आफ्नो जीवनमा उज्यालो छर्न
निमिट्यान्न पार्न खोज्दैछौ अरूको जीवनलाई
निरिह खशी र च्याँग्रा होइन
हरेक दिन
बाघ र चितुवा समात्ने हिम्मत छ तिमीहरूसँग
चारैदिशाबाट देशलाई टोक्न
पराई बाघ र चितुवाहरू
तीखा दाँतहरू उज्याइरहेछन्
हिम्मत छ तिमीहरूसँग
तिनीहरूको दाह्रामाथि मार हान्न ?
—२०७४ असौज ६ गते
जुफाल ,डोल्पा ।