दामोदर पुडासैनी किशोर – समयगर्भमा रँगिन अँकुर
पोखरीमाथि
झारनै झारको बीचमा कमल फूलेझैं
भीड माझमा आँखा जुधेको थियो
बसन्तको एक मध्यान्हमा तिम्रो र मेरो
अहिले मनभरी तिमीनै एउटा सुन्दर भीड सल्बलाइरहिछ्यौ
सहरको हल्लामा रूमलिरहेको बेला
हल्लानै हल्लाको बीचमा
तिम्रो सुमधुर स्वरले स्पर्श गर्यो मेरो कानलाई
समुद्रको दुईतिर पौडी खेलिरहेका घाम र जून
समुद्र किनारको सिँयालमा सँगै चलायमान भएझैं
सँगै शब्द साटेँथ्यौँ हामीले एक अपरान्ह
संसार एउटा भिडनै हो
यही भिड माझमा
कहाँ कहाँ स्पर्श गर्छन् आँखाहरूले
र, के के चुन्छन् मनहरूले
सबै छोडेर
मन किन यतिधेरै तिमीमै टाँसिन मन गर्छ
मनलाई सोधें ,त्यसको जबाफ मनलेनै दिन सकेन
भगवानको खोजीमा
रातोदिन भौँतारिँदै हिँडेका कयौं भक्तहरू देखेकोछु
कयौं चुचुराहरू नाघ्न
ज्यू ज्यान अर्पेर हिँडनेहरू पनि देखेकोछु
सारा श्री सँपति जुटाउँन ज्यान सुकाउँनेहरू पनि देखेको छु
बाटोमा हिँडदाहिँडदै
कसरी एक्कासी पस्यो मुटुभित्र सुनौला घाम
तिमीसँगको भेटको क्षणले सँझाउँदैछ श्वास श्वासमा
रूखहरू हेर्छु
तिमीलाई देख्छु
जून र घामलाई नियाल्छु
देख्छु तिमीलाईनै
केही पनि किन नहोस्
पिउँदा पाएको तृप्तिमा
भेट्छु तिमीलेनै दिएको सन्तुष्टि
बाटाहरू देख्यो भने
याद आउँछ तिमीलेनै डोर्याएको
तिमीलाई भेटेपछि
किन फक्रन थालेकाछन् जँगलभरि
प्रेमिल लालीगुराँस
किन गाढ़ा र बुट्टेदार बनेकोछ
हल्का रेसमी पछ्यौरी
किन लाग्छ हरेक मान्छेको अनुहार र मन
तिम्रै जस्तो,केबल तिम्रैजस्तो
कयौ मान्छेहरू
लोभिएका छन् फूलका बुट्टेदार थुँगाहरूमा
फूलहरूनै मान्छेसँग लोभिएर मातिएको भने
तिमीलाई भेटेपछि
पहिलोपटक देखिरहेछु मैले
घोर अन्धकार रातमा बिजुली चम्किँदा
एक्कासी मुस्कुराएको धर्तीजस्तो
तिम्रो र मेरो सानो भेटले
फैलिँदैछ समयगर्भमा प्रेमअँकुरको सुन्दर आकार
मैले लेख्ने गीतहरूमा
किन तिम्रै मात्र छन्
सुस्केरा र स्पन्दनहरू
गाभिनु समय
फुर्केर हिँडिरहेछ
हाम्रा बलिष्ठ पाइलाका चालहरूसँगै
अबको समयलाई
खेलाइरहनुपर्छ
तिम्रा र मेरा हत्केलाहरूमा
समय अनायासनै
बन्न थालेकोछ
बढी रँगिन र बढी गतिशील
-२०७६ बैशाख १९ गते
बिराटनगर,मोरँग