दामोदर पुडासैनी किशोर – निहाओ चीन ! निहाओ
भित्तामा झुण्याउने चित्रहरू
जमिनमा उभिएकाछन्
पुतलीहरू फूलमा होइन
दौडिरहेछन् कारखानाहरूमा
बिद्युतका द्रुत झटकाहरूलाई
आँखा र पैतालाहरूले बोकिरहेछन्
प्रवेशद्वारमा पनि निहाओ
बिदाईद्वारमा पनि निहाओ
मझेरीमा त झन् निहाओ !निहाओ!!
मन र माया सकिंदैन बाँडचुड गरेर
मान्छे छ ,र त
हिसाब किताब र परीक्षण छ मायाको
मायाको मुस्लो जन्मन्छन् कारखानाहरूमा
या,पोलिथिनका टनेलहरूमा
घाम,जून र बादल
लजाएर उभिन्छन्
गगनचुम्बी टावरका बार्दलीहरूमा
चराहरू भने धागो कातेर
पोलिथिनमा गीत लेख्छन्
फलाम ,तामा र चाँदीका बुट्टाहरू
आफ्नै करँगमा सजाएर
कृषकहरू
पुरानो मन्त्र जपिरहेछन्-
निहाओ !निहाओ!निहाओ!!!
ड्रयागनहरू डोजर घोट्छन्
अजिँगरहरू सुरूँग खन्दै बनाउँदैछन्
जमिनमुनि नौलो आकाश
मान्छे उभिएपछि
मान्छेले खान्छ समयका अनुहारलाई
चौघेरामा फसेको समयले
मान्छेसँग केहीबेर फुर्सद माग्छ
भाषा बोलिएन
हेरियो मात्र
मननै साटिएपछि
भाषानै किन चाहियो र बित्थामा ?
एकै प्रेममा सारा सँसार पस्यो एउटै दूलोमा
बोर्डिँग पास र सेक्यरिटी चेक पछि
चाइना साउदर्नकी स्वी चीन न्यानको बोलिमा
लोली मिलाएर मैले बोले-
निहाओ चीन!निहाओ !!
२०७६ बैशाख ८ गते आइतबार
(२०१९अप्रिल २१)
गुआँगझाओ बाइयुन एयरपोर्ट,चीन