Bhim Darshan Roka – Aaundo Khaadi

हिँड्दाहिँड्दै जब पछिल्तिर फर्कन्छु
ठूलो यौटा खाडी देखी तर्सन्छु
कसरी हामफाली मैले पार गरेँहुँला
विश्वास हुँदैन, आश्चर्यले म उफ्रन्छु ।
हिँड्दाहिँड्दै जब पछिल्तिर फर्कन्छु!
तर त्यो आइरहेको लामो ताँती
मानिसको सानु रुप भाँति भाँति
कसरी पार गर्लान् यो यत्रो ठूलो खाडी
झस्याङ हुन्छु, मुटु हान्दछ अनि तर्सन्छु ।
हिँड्दाहिँड्दै जब पछिल्तिर फर्कन्छु !
लाग्दछ फेरि कसरी जाऊँ अघिल्तिर
कसरी परुँ खाल्डो यो ठूलो पीर
बढ्दिन म अघिल्तिर केही नगरी
यही मेरो उद्देश्य, पछिल्तिर नै फर्कन्छु ।
हिँड्दाहिँड्दै जब पछिल्तिर फर्कन्छु !