दामोदर पुडासैनी किशोर – गोयबल्सहरू
अचेल
कुर्सीधारीहरू
बनेका छन् अभिनेता
उन्मत्त साँढेझैं
बिगबिगी मच्चाइरहेछन्
ढोके,बैठके,धुपौरे र कुरौटेहरूले
कुर्सीधारीहरूकोलागि
झिँगा र लामखुट्टेहरूले गाउँने
भजन प्यारो लाग्छ
झिँगा र लामखुट्टेहरू
सिधासाधाको रगत चुस्छन्
देखिएका र भेटिएका
सबै मेवा र मिष्ठान्न चुस्छन्
केही पुर्याउँछन् कुर्सीधारीहरूलाई
सँगसँगै कुराका पोकाहरू पनि चढाउँछन्
सट्टामा प्रणाली र सन्जाल
दुबैलाई चपाइदिन्छन् कुपुकुपु
कार्यालयका गोयबल्सहरू
झण्डालाई झुकाएर
कार्यालयको सिँहासनमा
आफैले रानु चढाएको दावी गर्छन्
र रानुको धमास देखाएर
खुरूखुरू दँस छोडछन्
गैर झण्डाका ज्यामी माहुरीहरूलाई
तपाँईहरूले भोग्नुभएकै छ
कार्यालयमा
दम्भी,लोभी,चटके,ठग र लोलोपोतेहरूको
भयँकर महोत्सव चलिरहेछ
गोयबल्सहरू
अबिर दलेको हातले गीता हल्लाएर
दाह्राले सिधासाधाको मुटु चपाइरहेछन्
तपाई हामीले देखेकै कुरा हो
हरेक पदक र पुरस्कारको सूचीमा
गोयबल्सहरूकै नाम आइरहेछ
समय र परिस्थितीसँगै
काँचुली फेर्न सक्ने मनुवाहरू हुन् गोयबल्सहरू
कुर्सी फेरिने बित्तिकै थुक्क थुकिहाल्छन् पुरानो कुर्सीलाई
र ,चाट्न थालिहाल्छन् नयाँ कुर्सीलाई
तपाईँहरू जेसुकै भन्नुहोस्
देश थलापरेकै गोयबल्सदँसले हो
डी डी टी छरेर मलेरियाका लामखुट्टे नष्ट पारेझैँ
सँपूर्ण गोयबल्सहरू सखाप नपारेसम्म
उठदैन,उठनै सक्तैन देश
बरू केहीबेर राजनीति रोकौँ
बरू रोकौ केहीबेर
सारा दर्सन र सिध्दान्तहरू
कमिलाका गोलाभित्र रोपेर
कहाँ फलाउँन सकिन्छ आलु
एउटा मात्र गोयबल्स बाँचेसम्म
उम्रन सक्तैनन् कुनै
उज्यालो र उचाईका बिरूवाहरू
गोयबल्सबिहीन बन्न चाहिरहेछ देश
बादलले नढाकेको घाम ताप्न खोजिरहेछन् मान्छेहरू
सबैभन्दा पहिलो अभियान
गोयबल्सहरू नष्ट गर्ने हुनुपर्छ देशको
२०७५ पुस ३ गते मँगलबार