दामोदर पुडासैनी किशोर – छुर्पी
तिम्रो र मेरो माया
सजिलैसँग टोक्न नमिल्ने
टोकेर त्यसै छोड्न नमिल्ने
कठिनाइहरूको सुनामी
घाँटीभित्र छिराउँदै
काखे बालकलाई
स्तनपान गराइरहेकी बिधुवा
छोडाउँन खोज्दैछिन् बेलका बोक्रा
सोच्दैछिन्
नयाँ पहाड ननाघे
पुगिन्न कतैपनि
उता पारिपट्टी
दाउराझैँ सुकाइरहेछिन् शरीर
एउटी कुमारी आमा
जटासहितको नरिवल बटुलेर
कुरिरहेछ मलाई कोही
आँगनछेऊ नयाँ फूल रोपेर
नहिँडे पुगिन्न
पुग्नका लागि म पहाडभित्र
दूलो खनिरहेछु
तीखा दाँतहरूको
साहस छ र पो
मीठो छ
कसैको लागि जिन्दगी
चपाउँने आँट नगर्नेहरूकोलागि
जीवन
बहुआकारको ढुँगा रै’छ
केबल नयनपान छ
रसपान छैन कतै
घटना होस् वा दूर्घटना
कुरिरहेछु
म कसैको तीर्सनालाई
परदेशी कुरिरहेकी तरूनी झैँ
कुरिरहेछु कुनै ग्राहकलाई
सट्टामा सुम्पँदैछु सारा जीवन
कसैका ईच्छ्याका सिरानी भित्र
छुर्पी जस्तै हो रहेछ प्रेम र जीवन
चाटेर मात्र नहुने
टोक्न,चपाउँन र निल्न सक्नेले मात्र
भेट्नेछ मीठो स्वाद
मीठो स्वाद सकिन नपाउँदै
सकिन्छन् सबै किनारा
कुनैबेला दूधझैँ वास्नादार थिँएँ
झुम्मिन्थे सबैजना
कुनैबेला दही थिएँ
हारालुछ गर्थे सबै कोण कोणबाट
आज जमेकोछु ढुँगा बनेर
प्रिय !
तातो बरफ चपाएपछि मात्र
बल्ल भेटेको हुँ तिम्रो स्वाद
म कडा सालिक होइन
मान्छे बन्न खोजिरहेछु
बन्द ओखर होइन
ओखरगुदी बन्न चाहिरहेछु
कोही छ
मलाई मायाले टोकिदिने ?
म तिम्रा तीखा दाँतहरू
कुरिरहेछु
-२०७५ माघ २० गते
फिक्कल ,इलाम