दप्किरहेछन् शीतका दाना !
कविले गरीकन गिल्ली गाना !
झूसे, पोहाला, छुच्चो भन्छन्,
दाँजी कुसुमसँग विषसरि गन्छन्,
हुँला असुन्दर, पीरो तातो !
रोप्दछ कसले ? हेर्दछ कसले ?
अछूत जातको नित अपयशले
निन्दित, वर्जित, त्यक्त कुनामा
फस्टिरहेछु विष नमूनामा
परित्यक्त जिमिनै जडले समात्यो
परुष वचनले छाती फाटयो !
भू नभएका जनका निम्ति
प्रकृति सामुमा गरीकन बिन्ती
आफ्नो भरमा उम्रेँ पलाएँ,
कूडा कर्कट झटारो पाएँ
पशुसँग पुस्तौँ रण भो घोर,
अग्न्यस्त्र प¥यो लिनु यस्ता कठोर,
अति जीवित भई सडक–किनारा
फस्टेँ, फैलेँ शिर ली हजारौ,
उक्लने बलले डाँठ भो गाँठो,
परुष वचनले छाटी फाटयो !
मुन्टा मुन्टा धम्र्मको नाउँ
बलि दी मौन छु तनभर घाउ
भूभर दाना नमिल्ने जनले
सान्ध्य ज्वलनमा भज्छन् नाउँ ।
अरु मीठा हुन् पोषून् ठूला,
दीन–सखा हुँ, शिवि भइ जाऊँ ।
भोका निम्ति जगत्मा आएँ ।
भूखमरको उदर रसाऊँ
कविजी ! जँच्दिन तिम्रा नजरमा
काढाँदार छु, ज्वलित छु लाटो
तिमीझैं जनले तत्व नबुझ्दा
सिस्नो रोई मर्नै आँटयो
परुष वचनले छाती फाटयो !
खस्रोपनाको स्वीकृत कोमल,
त्यक्त कुनाको जीवन प्राञ्जल,
नित्य ज्वलनको तप हो शीतल,
सुन्दर वलिका देवी–कुन्तल !
परिस्थितिमा मारक जीवन—
वीर समर हो विजय समुज्ज्वल !
भूसुत दीनहरुको दाना,
पुछ्नु, निभाउनु अनल, अमृतजल,
रछानमा तप कसले साध्यो ?
असुन्दर मुटुमा सुन्दर बाँध्यो ?
निन्दितले भन ! के के आँटयो ?
कवि दृग अन्धो, छाती फाटयो
मरुमा सिस्नो मर्नै आँटयो ।