दामोदर पुडासैनी किशोर – ताल र आँखाहरू
तालको किनारमा उभिएपछि
गहिरा आँखा र नीलो ताल
उस्तै उस्तै लागे मलाई
खोज्दै हिड्यो भने
पोखरी
गहिराई र खोचमापनि भेटिंदो रहेछ
पहाडको चुचुरामा पनि भेटिंदोरहेछ
गहिराई, खोच ,उज्यालो ,अँध्यारो
जहाँपनि हेर्छ आँखाले
तर बास भने
सधैँ भीरमै बसेको छ
तालको किनारमा उभिएपछि
दुबिधामा परेँ म
लहरहरू पहिले
आँखाबाट शुरू भयो कि तालबाट
अग्नीज्वाला
जलबाट शुरूभयो वा थलबाट
आजसम्म
कहिल्यै बनाउँन जानेन
पानीले कुनै आकार
यिनै आँखा र तालले
आकार बनाउँन खोजेकाछन्
ब्यग्रताकासाथ बग्न खोज्ने पानीको
जसरी तिमी र म उभिएर
उमारेकाछौं प्रेमको नवीन अँकुरण
कयौं उकुसमुकुसका लहरहरू
जमेकाछन् तालमा
तरँगहरू दौडाएर
एक कुना र अर्को कुनामा
सधैं सँग्लो बस्न खोजिरहन्छ ताल
मनका बेदना र खुशीहरू
कहिले चित्रमा उतारेर
र , कहिले कुलोबाट बाहिर निकालेर
सँधैं सँग्लिन खोज्छन् आँखाहरू
तिम्रा आँखाको नीलो पानी
र नीलै रँगमा लहरिरहेको ताल
दुबै उस्तै उस्तै लागिरहेकोछ
यसबेला दोमनमा छु म
भन
तिम्रा गहिरा आँखामा पौडुँ
कि अथक फैलेको
यो बिशाल तालमा
कहिल्यै झुठो देख्दैनन् आँखाहरूले
फैलाउँन खोज्छन् विवेक
पर पर क्षितिजसम्म
ज-जस्ले जतासुकैबाट दिउँन्
धूलो ,मैलो ,दूर्गन्ध र कठोर बालुवा
चुपचाप ग्रहण गरिरहन्छ तालले
र ,सँग्लिरहन्छ निरन्तर
हजारौ ब्यथा बोकेरपनि
हाँस्दै जीवनको रँग खोजिरहने मान्छे
र ,सँग्लो तरँगमा फैलिरहने ताल
किन किन मलाई उस्तै लाग्छ
लामो बिछोडपछि प्रेमिका भेटेको प्रेमी
र कठिन तपस्यापछि तालमा जीवन देखिरहेको म
भर्खर उभेका छौं तालको किनारमा
ठीक यसैबेला
तालमा पौडिखेलिरहेछन्
सँसारभरका सुन्दर आँखाहरू
– राराताल,मुगु
२०७५ असौज २२ गते