दामोदर पुडासैनी किशोर – जाडोमा
चिल्थरो कपडामा बेरिएर
अभाबको बिस्कुन कुरिरहेको मन
जल्दा जल्दै आगोको फिलिँगो बनेको छ
घुम्लुँग बाक्लो पर्दा ओडेको घाम भने
हिउँका थोपा बनेर
डस्न खोजिरहेछ मान्छेको मुटुलाई
मान्छेलाई
बिभाजनका किल्लाहरूमा कैद गरेर
भ्रमका तिखा दाह्राले डसिरहने ईस्वर
मरिसकेको हो धेरै पहिले
त्यही ठग ईस्वरको नाम जपेर
घुर तापिरहेका एक हुल मान्छेहरू
खरानी बन्नुभन्दा अगाडिनै
खरानी बनिसकेकाछन्
गाई गोठ अघिल्तिर
ईस्वर मरेको घोषणा गर्ने नित्सेको
मूर्ति बनाउन तम्सिरहेका मान्छेहरू
कन्दमुल खाएको प्रचारबाजी गरेर
कमोटमा चिकेन चिल्लिका लाप्साहरू
फ्लस गरिरहेछन्
भोट माग्दै गाउँ गाउँ चाहारिरहेको शासक
र,गाउँको चित्र देखाएर
बजेट मुठ्ठीमा पार्ने प्रशासक
दुबै बेस्सरी तातेका छन्
सम्पत्ति शुध्दिकरणको पिरलोले
उता बस्तिका मान्छेहरू
घर घरमा शँख घन्ट बजाएर
बेइमानका बिरूवाहरू रोप्दै
दलालको सिँगो शरीरलाई
समाजसेवीको बुकुवा लेपन गरिरहेछन्
यसपाली जाडो
बेस्सरी तातिइरहेछ
बिशाक्त मनहरूको हुस्सुमा रूमलिएर
जाडोको बहानामा
बन्द नगर झ्याल ढोक
नछोप सिरक डसनाभन्दा बाक्ला परिधानले शरीरलाई
बर्षेनी आइरहने जाडोसंग पलाएन भएर
आखिर
समर्पित हुनु पनि त छैन हामी
सुन्दर अनुहार र कुरूप मन भएका आफन्तहरू सामु
हुस्सु तोडेर बाहिर हेर
पट्ट पट्ट फुटेर निस्कने तयारीमा छन् मुनाहरू
चरा चिरबिराईरहेका हाँगाहरूबाट
– ग्वँग:बुँ ,काठमाडौ
२०७४ माघ ४ , बिहीबार ।