सामर्थ्य – कमजाेरी
चिसाे मरुभूमिकाे रातबाट
प्रात हुँदाबखत शरीरबाट उडेकाे वाफजस्ताे
मन बेलाबेलामा प्रेमकाे परिभाषा जान्ने अभिलाषामा वाष्पिकरण हुनुभन्दा नाजुक केही हुन्न रैछ
कामुक केही हुन्न रैछ
हुनुभन्दा उत्तम नहुनु नै हाे कि सम्झेर
मुटुलाई बेस्मारी चिमाेटेर, निचाेरेर
सके जति जम्मै छिचाेलेर
म दिमागकाे सुन्छु
हेर्नुस्!
अब जन्मिने हर काेहीलाई मुटुले नतर्साउनु
कृत्रिम जन्माइने हरेक काेहीमा हृदय नबनाउनु!
दैनिक राशिफल पल्टाउँदा,
या उनले हात समाउँदा
अराजक आतंकै किन नहाेस्
म चाहन्न शरीरकाे कुनै अंग
लिङ्गेपिङ जसरी बेजाेडले हल्लियाेस् ,
बरु आँखाहरु हिउँदे शीतलहरझैँ रसाइरहुन् ,
गला क्रुद्ध अवरुद्ध भइजाओस् ,
गाेडा आफ्टरसकझैँ युगान्तरसम्म काँपुन् ,
तर हिमालजस्ताे अडिग उभिएकाे
चार फुटे चाैडा शिराभित्र
लुडाेकाे गाेटीजसरी नहल्लिओस् केही,
नचम्किओस् केही आकाशगङ्गाजस्ताे,
नझुण्डिओस् केही अलार्म क्लकजस्ताे
नसुनुन् युगल जाेडीले एकअर्काकाे धुकधुकी
आँखाले सपना देखाउन अस्वीकार गरून्-
प्रेममा अन्धाे हुन ईन्कार गरुन्
नछामाेस् बालकले आफैँ भित्रबाट कसैले पिटिरहेकाे
सैतानी ढ्याङ्ग्राे,
यद्यपि,
धाराप्रवाह चलिरहाेस् मानिस गिदीमार्फत- महाकविजस्ताे।
युद्धग्रस्त टाकुराका,
अक्षांस देशान्तरहरु नै बदलिदिने
भयंकर विष्फाेटनहरुकाे आवाजझैँ
घरिघरि आफ्नै मनबाट तर्सिनुजस्ताे घातक केही हुन्न रैछ
अराजक केही हुन्न रैछ
हुनुभन्दा उत्तम नहुनु नै हाे कि सम्झेर
मुटुलाई बेस्मारी चिमाेटेर, निचाेरेर
सके जति जम्मै छिचाेलेर
म दिमागकाे सुन्छु
हेर्नाेस्!
अब जन्मिने हर काेहीलाई मुटुले नतर्साउनु
कृत्रिम जन्माइने हरेक काेहीमा हृदय नबनाउनु!