प्रज्ना कोइराला – आज बल्ल मैले एउटा दुना गासेँकी थिएँ
हातमा लिई सालको पात बस्नुहुन्छ मेरी हजुरआमा,
दुना बनाई टपरा गाँसौला भनी दुइटा कुरा साँचौला भन्नुहुन्छ मेरी हजुरआमा।
जीन्दगीलाई सानो कुनामा लिएर आमैको साथमा पैलेटी कसी,
आज कुरै कुरामा बुझ्दै जाँदैछु आफ्नोपनलाई यो कवितामा रचीँ।
मामुले चाहीँ आफैँले सिकी गर्नुपर्यो भन्नुहुन्छ आँफूसरी,
त्यसैले तिमी लाटो नबनभनी सिकाउनुहुन्छ घरी घरी।
सालका पात एकदम कलिला कतिपय कुराहरु बुझाएर गाँसी,
‘हुने बिरुवाको चिल्लो पात जस्ता छन् बालबालिका भनी बुझाइसिन्छ हाम्री बाठी हजुरआमा सिन्को भाचीँ भाचीँ।
७५ साल कसरी बिते यी सानातिना सम्बन्ध जोड्दै जाँदा,
भँन्थे छोरीमान्छे त होस् के होला तलाई शिक्षालिन नपाउदा।
संघर्ष र कष्टकर जीवनको सुखदुखलाई संगाली आज पनि मैल आफ्नो दायित्व निभाउन पटुकी कसेँ,
अनि आफ्नो सन्ततीलाई आफूले अंगालेका सबै सपना नासोका रुपमा राखी बसेँ।
मलाई पनि लाग्दैछ अब त्यति बेलाको जीवनशैली आमाले कसरी सहिन,
हातमा पातलाई लिई एक माथि अर्कोलाई राखेर टपराको आकारमा ध्यानदिदै आमाले आफै भनिन् ।
कसरी सम्झाउनु परिवार र आफन्तको माया जसको कारण म जीवनमा गम्भीर भएँ,
भ्याई नभ्याई घरजम गरी भारी बोकी भकारो सोर्दै आफ्नो र आफ्नो परिवारको पिडा सहेँ।
म तिर फर्केर भन्नुहुन्छ,”नातिनी,
तिम्रो उमेरमा तिम्री आमा भीर पखेरामा डुल्ने गर्थिन;
आफूले थाहै नपाई भान्साको चुलोमा म आफू रहे जस्तै रहन्थिन।
सानैमा गाउँको स्कुलमा राखेका हामीले घरमा कक्षाको कुरै कुरामा भुल्याइदिन्थिन् ,
अनि आकस्मात हजुरबुवालाई पढेका कुराहरु याद गरी व्यंग्य हान्थिन”।
“हैन यो दुना भित्र सिन्का कसरी भाच्ने हो?”प्रसंगै प्रसंगमा सोधे मैले पनि,
मेरो मामु हास्नुहुन्छ र भनिसिन्छ,”पहिला पढाईमा अव्वल हुनुपर्छ अनि मात्रै सिन्को भाच्यौ भन्छु म अनि”।
“हातमा सीप लिनु पनि आर्को पाटा हो विद्या आर्जन गर्ने ,
जीवनमा केही गरेर देखाई सफल व्यक्ति बन्ने “।
यसरी नै आफूले पनि आफ्ना कुरा व्यक्त गरे।
“सयौँ फूलका थुंगा हामीलाई विद्याको ज्योति चाहिन्छ,
शिक्षा र वास्तविक जीवनको पहिचान भएपछि मात्र सक्षम हुन सकिन्छ”।
“सुनका थैलाको इच्छा नराखी सार्थक जीवनका यी कुराकानीमा हजुरहरुसंग म पनि रहेँ
र आज पनि शिक्षालिन पाउदा आफ्नो क्षमतालाई बुझी आफ्नो लक्ष्यतिर लम्कने प्रेरणा पाएँ “।
यी तिता मिठा कुरामा सम्बन्धहरूलाई आत्मसाथ गर्दैछु म,
हजुरआमा संग बस्दा आत्मबोध हुदा आफ्नोपनलाई अंगाल्दैछु म।
आफूले जानेसरी जीवन बिताउनुछ मलाई,
ठूलाबडाको आदर्शलाई लिई अब कर्मनिस्ट भई सम्झाउनु छ सबैलाई
यी सबै कुराहरुमा आफ़्नाहरुका बीच बसेकी थिएँ,
आज बल्ल मैले एउटा दुना गासेँकी थिएँ।