Debaki Avilasi – Yo Shahar Lai Ma Prem Garchhu

देवकी अभिलाषी – यो शहरलाई म प्रेम गर्छु

गाउँ छाडेर जव
प्रबेश गरें म शहरमा
शहर पसेकै दिनबाट
बढ्न थालेको हो
गाउँ प्रतिको बिछट्टै माया
सुरु भयो यही शहरबाट
देश खोज्ने मेरो शिलशिला ।

यही शहरले सिकायो
इन्द्रेणी सपनाहरु बुन्न
यही शहरले सिकायो
पहाड झैं सहनशीलताको पाठ
शहर आएपछि सिकेको हुँ
काँडाहरु माथि बाटो बनाउँन
फूलहरुसँग होसियार बस्न
यहीबाँट सुरुवात भयो
जीवनको मेरो पहिलो अध्याय

यस्तो लागिरहेछ
यो शहर त मेरो
पाठशालाको कुनै गुरु जस्तो ।

यही शहरको बुई चढेर तिमी
गरिरहन्छौ आरोहण जिन्दगीका हिमालहरु
यही अड्डिएर हुट्टिट्याउ झैं
चलाइरहन्छौ आफ्नै साम्राज्य
विचारा ! शहरको छात्ती चिरेर
बनाइरहन्छौ सपनाहरुको आधार शिविर ।

बिहान उठ्न नपाउँदै
गाली गर्छौ सिंहदरवारलाई
घण्टाघरलाई
काठमाण्डौलाई
फेरी हिँड्छौ शहरकै बाटो
सपनाको चङ्गा उडाएर
किन भन्न गार्ह्यो छ तिमीलाई
यो शहर मेरो हो
यो देश मेरो हो ।

शहरकै विरुद्द गीत गाउँदै हिँड्नेले
किन देखि हिंड्छौ
हेरेक रात शहरमै सपना
कति आरोप सहनु शहरले पनि
सपना बेचेको आरोप – सपना किनेको आरोप
म त भन्छु
तिमी शहरमा छिरेपछि
अपाङ्ग भएको हो शहर
एउटा बसाईं सर्दैमा
अर्कै भूगोल मान्छौ यो शहरलाई ?
शहरलाई अँध्यारो देख्नेहरु
किन बोल्दैनौ एक काँटी सलाई अँध्यारोको बिरुद्दमा

तिमीले धावा बोलेको यो प्राचिन अलकापुरी
कालीगढको सुन्दर आकृति झैं लाग्दछ
यहाँका कलामन्दिर न्यातपोल झैं अग्लो सौन्दर्यलाई
सिंगो रुखको एउटै कलाकृति काष्टमण्डपलाई
सुललित, लयबद्द त्रिपुरको दमित शक्तिलाई
आजकाल म गाउँ जतिकै प्रेम गर्न थालेको छु ।