Bishnu Bhandari – Jevan Tufan Ko Sangeet Rahechha

जीवन तुफानको सङ्गीत रहेछ

नीलिमा ! दिन ढल्किसकेको थियो र बग्दै थियो
सन्ध्याकालीन शीतल हावा
म सहिदको रगतले सिञ्चित भूमिमा
बसेको थिएँ
जहाँ पवन पनि
सहिदको वीरतापूर्ण गाथा बोकेर बग्ने गथ्र्यों ।

ओहो ! कस्तो साहस !
कस्तो आत्मीयता !
उनले गुमाएर आफ्नो जीवन बचाए सयौँ योद्धा
ओहो ! कति महान् !
उनले बलिदानको नयाँ इतिहास रचे र जिते
अर्घाखाँचीको वीरतापूर्ण मोर्चा ।

हो नीलिमा ! उनी अगाडि भन्दै गइन््
त्यही गौरवपूर्ण लडाइँको नयाँ कथा
जहाँ समीर ढलेका थिए
जहाँ उनी समातिएका थिए
र नयाँ इतिहास लेख्दा लेख्दै
स्वयम् इतिहास बनेका थिए ।

कवि ! लडाइँ सकिएको थियो
उनले आकाशगङ्गा हुँदै उडिजाने
पन्छीलाई हेर्दै भनिन््
आँधीपछिको चकमन्न रातजस्तो
समय निस्पन्द बगिरह्योे
पन्छीको चिरबिराहट गायव भयो ।

कवि ! लोरीको छातीमाथि
घण्टौँ घमासान लडाइँ भयो
विमान आउँथे हुइँकिदै
उनले खसाल्थे तोराबोरा
उनले खसाल्थे बमगोला
शठाधीश घनघटाको गर्जनाजस्तो
जमीन थर्काउँदै फाट्थे बम
तुफान मच्चिएर बगेजस्तो
गोली सुसाउँदै उड्ने गर्थे ।

कवि ! असाध्यै नजिक–नजिक थिए
शाही सेना र मुक्ति सेना
मानूँ मल्लयुद्धको तयारी गर्दै छन्
अथवा लड्दै छन् बन्दुक विना
मन असाध्यै व्याकुल भयो
कतै वैरीले पेल्यो भने
कतै दुश्मनले जित्यो भने
छाती ढुक्–ढुक् गरेर बज्न थाल्यो ।

सुन्दर लोरीको मध्यभागमा
जब आगो ओकल्दै बम फाटे
लोरी कम्पित भयो
लोरी त्रसित भयो
बन्दुकको आवाजसँगै
ग्रिनेट सुसाउँदै खस्नथाले
बम गर्जिदै फाट्नलागे
लोरी हरायो धुवाँभित्र
लोरी छेलियो वारुदभित्र ।

शत्रु चाहन्थ्यो रगतको खोलो बगोस्
जनताको प्यारो सेनालाई
ऊ चाहन्थ्यो सिध्याउन
तर त्यो दिवास्वप्न कल्पना मात्र भयो
उसले फेरि हा¥यो
जनमुक्ति सेनाको सामुन्नेमा
ऊ कहाँ टिक्थ्यो
ऊ कालो धुवाँको पर्दा पछाडि
प्राण बचाएर भाग्न लाग्यो ।

त्यो वीरतापूर्ण लडाइँ
त्यो स्वयम् जनताले लडेको युद्ध
अर्को उत्सर्गको कोटा थपेर सकियो
रगतले माटो सिञ्चियो
इतिहास नयाँ लेखियो
यही लडाइँको बीचबाट
कवि ! मैले नयाँ जीवन खोज्ने
नयाँ मान्छेको गीत सुनेँ ।

कवि ! लडाइँ सकिइसकेको थियो र शान्त थियो
लोरीको सुन्दर पहाड
अझै पनि बन्दुक पट्किदै थिए
र उड्दै थिए
गडगडाउँदै हेलीकोप्टर ।
बोकेर मनभित्र अथाह सन्त्रास
म पुगेथेँ जरुवामा पानी लिन
जहाँ जरुवाको कलकल आवाज
सङ्गीत बजेझैँ झङ्कृत हुन्थ्यो ।
सन्ध्याको मिरमिरे अध्याँरोमा
खोल्सो अलिक छेलिएको थियो
घना रुखहरूको छहारीमा
जरुवा अलिक छोपिएको थियो
त्यही खोल्सो छेउ
त्यही जङ्गल छेउ
मानिस हो कि अरु नै कोही हो
साउती गरेझैँ विस्तारै बोल्यो ।

म डराएँ कवि !
यो सुनसान जङ्गल
यो सुनसान साँझ
को होला यसरी बोल्ने ?
कस्को होला यो आवाज ?
कतै यो आवाज मान्छेको त हैन ?
मैले आफूलाई आस्वस्त गर्दा नगर्दै
आवाज फेरि आयो
मैले साहस बटुलेर हेरेँ
जहाँ रक्तमुछेल एउटा मान्छे
मृत्युविरुद्धमा लडाइँ लड्दै थियो ।

कवि ! उसले बोलायो र पानी माग्यो
पानीसँगै उसले जीवन माग्यो
उसको आवाजमा एउटा तरङ््ग तरङ्गित भयो
मैले त्यस तरङ््गमा अज्ञात आशङ्का जागृत भएको देखेँ
जुन विस्तारै उठ्यो र टाढा भाग्यो
मैले त्यस हेराइमा गहन पीडा भरिएको भेटेँ
जहाँ केही याचना थियो
केही भरोसा थियो ।

मन डरले काम्न लाग्यो
यो सुनसान र एकलास ठाउँ
यो एक्लो मानिस
बमले छियाछिया भएको मानिस
कतै मर्ने त हैन ।
अहँ ऊ मर्ने छैन
उसलाई मर्न दिनु हुन्न
म दृढ भएँ र उसलाई बोकेँ
उसको स्पर्शमा
मैले उन्मुक्तिकोे महान् आशा भेटेँ
मैले मेरी बहिनीको सुन्दर तस्बिर देखेँ ।

कवि ! मैले खबर गरेँ ती मान्छेलाई
जो निरङ्कुश सत्ताको विरुद्धमा
गाउँ बस्तीलाई जगाउँथे
उनी तुरुन्तै डाक्टर सहित
पवन बनेर आए र पवन छरे
उनी जीवन बनेर आए र जीवन दिए ।

कति प्रिय छन् यी मान्छेहरू
कति सरल छन् यी योद्धाहरू
फटाफट मेसिनले गरेजस्तो
उनले फटाफट सिलाई गरे
सकेर छिनमै सारा काम रात नढल्किदै अलप भए ।

न जिन्दगीको सम्बन्ध छ
न रगतको साइनो छ
कोही सुदूरपूर्वका मान्छे यिनी
कोही पश्चिमी पहाडका
तर नाताभन्दा गहिरो माया
छचल्किएर बग्ने गर्छ ।

यो कस्तो सम्बन्ध हो
सधैँ–सधैँ बाँचिराख्ने ?
यो कस्तो साइनो हो
सधैँ–सधैँ हाँसी राख्ने ?
एउटा ढल्दा अर्को उभिन्छ र समात्छ उसको बन्दुक
एउटा मर्दा अर्को उठ्छ र भर्छ खाली ठाउँ ।

मैले रगत दिएर जीवन बाँच्ने
युवाको अन्तर्मनमा पसेर हेरेँ
त्यहाँ निस्वार्थ देशभक्ति
जीवनभन्दा प्यारो थियो
मैले जीवन ढलेर आस्था बाँच्ने
महान् सहिदको भावना पढेँ
त्यहाँ सुन्दर बिहान, सुन्दर संसारको कामना थियो ।

कवि ! रातको अन्तिम प्रहर
ऊ गहिरो नीद निदायो र फर्किए डाक्टरहरू
म पेटीमा सुस्ताएर खुल्ला आकास हेरेँ
जून डुब्दै थियो ।
मैले पहाड हेरेँ
पहाड ठिङ्ग उभिएको थियो
टाढा–टाढा देखिने पहाडी बस्तीहरूमा
जल्दै थिए मधुर दीपिकाहरू
एकलास खर्कका कटेराहरूमा
बज्दै थिए मुक्तिका धूनहरू ।

धून विस्तारै बढ्दै गयो
भर्खर अघिसम्मको सुनसान रात
विस्तारै गुल्जार बन्यो र बग्न लागे
केही खुसीका भावनाहरू
केही आँसुका सम्झनाहरू ।

के यो धून उसैको हो ?
के उसलाई सञ्चो भयो ?
म फर्किएर भित्र आएँ
ऊ सुतेको छ र सुनसान छ मेरो कोठा
ऊ निद्रामा निमग्न छ र निस्तब्ध छ मेरो चोटा ।

बिहान अलि अबेर जाग्यो ऊ
बमले छियाछिया उसको अनुहार
भयावह र डरलाग्दो थियो
खुट्टा काटिएका थिए
शरीर सुन्निएको थियो
तर पनि ऊ विस्तारै उठ्यो र दबाइ खायो ।

मैले सोध्न खोजेँ उसको नाम
ऊ को होला ?
कहाँ बस्छ होला ?
उसलाई जान्न र बुझ्न खोजेँ
तर म बोल्न सकिन
बोल्न खोज्दा आवाज गलामै अट्किएर रह्यो ।
मैले सुनेकी थिएँ पार्टीका मान्छेहरूले
आफ्नो पहिचान बताउन्नन्
बहिनीले भनेकी थिई
नाम सोध्नै किन प¥यो र
यात्रामा हिँड्ने मान्छेहरूको ।

उसले झुन्डिएको फोटो माग्यो
मैले फोटो दिँदै भनेँ
मेरी बहिनीको फोटो
तपाईंजस्तै जनताको सिपाही हो
सायद ऊ पनि यहीँ आई र लडाइँ लडी
उही त मेरो आफन्त हो
उही त मेरो भरोसा हो ।

तपाईंकी बहिनी !
उसले अचम्म मान्यो र हेरिरह्यो ।

हो, मेरी बहिनी !
कवि ! मैले उसलाई आश्वस्त पार्दै भनेँ–
जसलाई मैले राखेँ
जसलाई मैले पालेँ र ठूली बनाएँ
विचरी जसले अनेकौँ चाहनाहरू
मनभरि साँच्दा नसाँच्दै
सानैमा घर त्यागेकी थिई
घरबारविहीन
भरोसाविहीन
ऊ नौरङ््गी सपनाको आदि विन्दुमा पुग्दानपुग्दै
स्वयम् रङगहीन बनेकी थिई ।

त्यो घर जहाँ हामीले धर्ती चुमेका थियौँ
जहाँ आमाको लोरी सुन्दै हुर्किएका थियौँँ
घरजस्तो थिएन
माया र दयाविहीन
खुसीर हाँसोविहीन
मानौँ भूत बङ्गला हो
जहाँ न ममताको निर्झरी छ
न स्नेहको माधुर्य छ
एक्लो र उराठ उराठ मानौँ मसानघाट हो त्यो ।

त्यहाँ न दिन झुल्थ्यो न बिहानले चिहाउँथ्यो
त्यहाँ न साँझ फुल्थ्यो न खुसीको हावा चल्थ्यो
मानूँ यन्त्र हो साँचोमा ढालिएको
मानूँ ढुङ्गा हो ममता लुटिएको
स्नेह बेचिएको ।

आमा धेरै टाढा
सितारा बनेर चम्किने गर्थिन््
बाबा राक्षसजस्ता
हर्दम आकाश गर्जिएझैँ गर्जिने गर्थे
त्यो मातृत्वविहीन घर
हमेशा दुख्ने गथ्र्यो
आशाका पत्रहरू नफक्रिदै मुर्झाउँथे ।

मैले सोचँे कवि !
यो दासयुगीन अँध्यारोमा
यो पवनकली मुर्झाउने छ
ऊ सड्ने छ
उ सडाइने छ र फ्याँकिने छ ।

हो, मैले यही सोचेँ र सँगै लिएर आएँ ।

तर त्यो कुसुमकलिका
फक्रिएर फुल्दानफुल्दै
लालीगुराँस बनेर झुल्दानझुल्दै
हाम्रो आँगन प्रियजनको रगतले रातै भयो
हाम्रो संसार गाढा अन्धकारमा विलुप्त भयो
मेरो आधार
मेरो सर्वश्व
एकै झट््कामा स्वाहा भयो ।

जब सम्झिन्छु त्यो कालो बिहान
जब त्यो पीडामयी बिहान स्मृतिमा तरङ्गिन्छ
मन पीडाले दुख्छ
मन घृणाले झुक्छ
जहाँ निष्कलङ्क मेरा श्रीमान्
आफ्नै आँगनमा ढलेका थिए
विना कसुर
विना गल्ती
घामका किरण नजन्मिदै मुला काटिएझैँ काटिएका थिए ।

मानूँ पशु हुन् ती
मानूँ मध्ययुगीन दास हुन् ती
जसलाई चाहे किने हुन्छ
चाहे बेचे हुन्छ
चाहे पिटे हुन्छ
चाहे काटे हुन्छ
नभन्दै उनलाई पिट्दापिट्दै
जिउँदै आँखा निकालिए
जिउँदै हात काटिए ।

उनको अपराध थियो खाना दिनु
उनले भोकालाई खान दिए
उनको अपराध थियो बास दिनु
उनले रातका पाहुनालाई बास दिए
बस् यत्ति न हो उनको अपराध
कति अक्षम्य अपराध !
भोकालाई खाना दिनु
कति ठूलो गल्ती !
मान्छेलाई ओत दिनु ।

उनको गल्ती थियो साँचो बोल्नु
उनको अपराध थियो सत्य खोल्नु
उनले ढाँटेनन्् सत्य बोले
उनले निर्विघ्न छाती खोलेर भने
हो, मैले बास दिएँ
मैले गास दिएँ
बास र गास दिनु अपराध भए
म तयार छु सजाय भोग्न ।

तर त्यो सजाय यति बर्बर थियो कि
उनले ऐया भन्नै पाएनन्् ।

उनले मलाई बिहानी लालीसँगै
लालीमय बनाउने सपना साँच्दासाँच्दै
आफ्नो जीवनलाई न्यौछ्वार गरे
विद्रोहको विगुल फुक्नेहरूलाई
खाना दिएकै कारण
आफ्नो जीवनको बलिदान गरे ।

यो दारुण समयको दर्दनाक बिहानीमा
मात्र आकाश रोयो
सूर्य उदायो तर ऊ मुस्कुराएन
बादलको घना जङ्गलभित्र ऊ गायव भयो
त्यो नृशंसताले छपक्कै घेरेको बेला
मेरी प्यारी बहिनी
जसले भिनाजुलाई असाध्यै सम्मान गर्थी
जसले ममताको न्यानो अँगालो
मेरै सान्निध्यमा खोज्ने गर्थी
असाध्यै मर्माहत बनी
उसका आशा र सपनाहरू
फेरि पनि टुक्रा टुक्रा भए
उसले कलम बोक्ने हातहरूले बन्दुक बोकी
ऊ पवनसँगै उफुर्किएर उड्दानउड्दै
स्वयम् तुफान बनी र बारुद बनेर जल्न पुगी ।

कवि ! ऊ फेरि सुत्यो सायद ऊ बस्न सकेन
ऊ फेरि उठ्यो सायद ऊ सुत्न सकेन
हुन सक्छ घाउको पीडाले ऊ दुख्दै थियो
हुन सक्छ घरको चिन्ताले ऊ रुँदै थियो ।
उसमा केही छटपटी थियो
उसमा केही हडबडी थियो
सायद जीवनको, सायद यात्राको वा आफन्तको
गहिरो सम्झनाले ऊ व्याकुल थियो ।

उसमा कति साहस थियो
त्यस्तो असह्य पीडामा पनि
उसले निरन्तर लेखिरह्यो
उसमा कति स्नेह थियो
त्यस्तो सङ्गीन क्षणमा पनि
उसले मलाई सम्झाइरह्यो ।

कवि ! मैले नजिकै बसेर उसलाई सोधेँ
के तपाईं उसलाई चिन्नुहुन्छ ?
उसलाई सन्चो त छ के ?
उसको सम्झनाले मन उदीप्त बनेर जल्ने गर्छ
उसको चिन्ताले मन खरानी बनेर उड्ने गर्छ ।

कसलाई ? बहिनीलाई ?
हो चिन्छु
म उनलाई चिन्छु
धेरै नजिकबाट र धेरै गहिरोसँग
शान्त स्वरमा उसले भन्यो
उनी तपाईंकी मात्र हैन
लाखौँ मान्छेको अमूल्य निधि
लाखौँ शोषितको सम्पत्ति हुन्
उनी जीवनको नवीन बिम्ब
शत्रुविरुद्धको महाकम्प हुन् ।
उनलाई ठीक छ
उनी निरन्तर लड्दै छिन् मोर्चाहरू
उनी निरन्तर चुम्दै छिन् विजयहरू ।

छोटो समयको मौनतापछि
उसले मलाई सोध्यो
जीवन कहिले दुख्ने रहेछ
जीवन कहिले हाँस्ने रहेछ
दुःख र सुखको संगम रहेछ जीवन
तपाईंले जो भोग्नु भयो वर्तमानको यथार्थ हो
हामीले भोगेको तीतो सत्य
निरङ्कुश सत्ताको उपहार हो ।
दुःखको यो भयावह आँधीबीचमा
जीवन कसरी चल्दै छ त ?

मैले झस्किएर उसलाई हेरेँ
ऊ मलाई नै हेर्दै थियो
म ऊदेखि झस्किएँ कि उसको प्रश्नदेखि
म जीवनको प्रश्नदेखि आत्तिएँ कि
उसको घाइते अनुहारदेखि
जेहोस् मलाई लाग्यो
ऊ मलाई चिन्छ वर्षाैंदेखि
अथवा सगोत्री हो जिन्दगीको
ऊ मलाई बुझ्छ महिनौंँदेखि
अथवा परदेशिएको सदस्य हो ।

मैले विस्तारै उत्तर दिएँ –
जीवन आँसुको सागर रहेछ
म नुनिलो सिन्धुमा डुबेकी छु
जीवन सिरासिरामा चर्किएको छ
म सहाराहीन बाँचेकी छु ।

उसले भन्यो –
जीवन आँसुको दहमा पनि
कमल बनेर फुल्ने गर्छ
जीवन एकलास मरुभूमिमा पनि
सरिता बनेर बग्ने गर्छ
जसले जीवनको गरिमा बुझ्छ
ऊ सदैव सुखी हुन्छ
जीवन सिर्जनाको दिव्य सुमन
किन उदास बनेर झर्नुहुन्छ ?

मैले सोचेँ म सुमन हुँ वा कलङ्क हुँ
म कुसुम हुँ वा काँडैकाँडा
मैले आँसुलार्ई रोक्दै भनेँ –
जसले जीवनको भाका दियो
मैले सङ्गीतमय मिर्मिरेमा
लयहीन बनाई छोडिदिएँ
जीवन वृत्तको जटिल मोडनेरै
जसले मायाको फाँद दियो
मैल गुमाएर त्यसलाई पनि सुक्खा बगरझैँ बाँचिरहेँ ।

उसले एकोहोरो हेर्दै भन्यो –
किन तृणझैँ सुक्नु हुन्छ ?
किन लक्ष्यहीन बाँच्नु हुन्छ ?
जीवन आँसु र खुसीको सङ्गम न हो
पीडैपीडाको बीचमा पनि माया साँचेर जिउनु पर्छ
जीवन हर्ष र विस्मात्को दोभान न हो
चुनौतीले भरिएको खोंचमा पनि छाल बनेर बग्नु पर्छ ।

माया साँचेर गर्नु के छाया खोसिएपछि
छहारीविनाको शीतल पवन
छानोविनाको घरजस्तो
मात्र मृगतृष्णा
म एकलाष्ट मरुभूमिको प्यासी यात्री
सहारविहीन बसेकी छु ।

उसले सन्ध्याको क्षितिजमाथि
डढ््दै गरेको आकाश हेर्दै भन्यो –
छाया अस्थिर हुन्छ
छाया क्षणभङ्गुर हुन्छ
ऊ रोकिँदैन अचला बनी
ऊ घुम्छ चपला बनी ।

हामी सजाउँछौँ चौतारीमा
सुकोमल वृक्षहरू
हामी सङ्गाल्छौँ घुम्तीघुम्तीमा
सुमधुर सम्झनाहरू
समय न हो,
समयसँगै ती छाया बन्छन्
जीवन न हो
जीवन विस्तारै समृद्धिको पहाड चढेपछि
ती छोडिन्छन् र पछि पर्छन् ।

कवि ! साँझ असाध्यै छिटो आयो र छिनाइदियो
हाम्रो संवादका तुनाहरू
उनले एउटा झोला दिँदै भने
म विश्वस्त छु
यो बच्ने छ जीवन–जीवन
जीवन सपनाहरूको महापुञ्ज हो
म सपना साटेर फर्किने छु ।

यसमा छन् जीवनका सम्झनाहरू
आगो ओकल्ने क्षणहरू
यसमा छन् एकलास चौतारीमा पनि
जीवन हँसाउने सुमनहरू ।

केही समयमै रात प¥यो
रातको चुपचाप सन्नाटा फेरि चलमलायो
फेरि फर्किए खरानी बनेर जीवनको गीत गाउनेहरू
फेरि आए आफू सकिएर अरूको आँसु पुछ्नेहरू
उनीहरूले उसलाई बोके
विदाइको हात हल्लाए र अन्धकारमा कतै बेपत्ता भए ।

मैले अँध्यारो रातमा पनि
उनलाई पछ्याएँ र हेरिरहेँ
उनको अस्पष्ट छायालाई
मैले अनकन्टार पहरामा पनि फुल्नसक्ने
देखेँ जीवनको नमेरोलाई ।

कविले भनी सिध्यायो
समीरको छुटेको कथा
उसको अतीतको कथा र नीलिमालाई भन्यो–
हो नीलिमा ! उसको किशोर वय
असाध्यै विरस थियो
उसको यौवन
असाध्यै नीरस थियो
यही अप्ठ्यारोमा उसले सिमरान भेट्यो
यही सङ्घर्षमा उसले नीलिमा भेट्यो ।

सायद, सिमरान यौवनको भाका थिई
जुन गाउँदा नगाउँदै टुट्यो
नीलिमा जीवनको आशा थिई
जुन झङ्कृत नबन्दै
ऊ स्वयम् अलप भयो र बाँकी रह्यो
उत्सर्गको महान् गाथा ।

नीलिमा ! यो उनकै झोला
यो उनकै डायरी
सिमरानले दिएकी हुन्
जसमा लेखिएको छ
तपाईसँगको अन्तिम रातपछि
गिरफ्तारपूर्वको महान् कथा
घेरालेखको अन्तिम सेल्टरपछि
सिमरानसँगको अन्तरसंवाद ।

तर यो अन्तरसंवाद मात्र हैन
महान्युद्धको आँखीझ्याल हो
यो समीरकै अन्तिम लेखोट
उनको जीवनकै महत्ता हो ।

म उनको अन्तिम साक्षी
म उनको अन्तिम गवाह
म कहिल्यै भेट्ने छैन
ऊजस्तो महान् मान्छे
जसले अन्तिममा भनेका थिए –
कवि ! जीवन कति सुन्दर हगि
म पहरामा फुल्ने जीवन पछ्याउँछु
आँधीसँग खेल्ने जीवन रोज्छु
जीवन तुफानको सङ्गीत रहेछ
जीवन पवनको गुञ्जन रहेछ
म आगोको बीचमा पनि
सजीव बनेर उठ्न खोज्छु ।

कवि ! यो युद्धको नयाँ मोर्चा
म अझै हतास भएको छैन
यो लडाइँको घाइते जीवन
म कुण्ठा बोकेर बसेको छैन ।

जीवन आखिर लडाइँ त रहेछ
म जीवनको नवीन लडाइँ लड्दै छु
जीवनका नवीन बिम्बहरू
महान् युद्धमा छलाङ मार्दै छन्
अहँ ती डराएका छैनन््
अहँ ती पछाडि फर्किएका छैनन््
अझै माथि–माथि बढ्दै छन् र चुम्दै छन्
हाम्रो आस्थाको सगरमाथा ।

कवि ! म तिनै नवीन बिम्बजस्तै
अझैँ घनीभूत हुन चाहन्छु
अझै प्रदीप्त बन्न चाहन्छु ।