बिष्णु भण्डारी – माटो भावनामा चम्किँदैन
शरद ऋतुको कञ्चन आकाश
सिस्तुङ सुकोमल
सिस्तुङ समुज्वल
ऊ टल्कन्छ ज्योत्स्नामा
भर्खरै खुलेकी यौवनाजस्तो
भर्खरै फुलेको वसन्तजस्तो
हावाको मनमोहक झोक्कासँगै
धानको लहरमा लहराउँदै छ ऊ
चञ्चल बनेर उड्दैछ ऊ ।
समीर पारि पारि हेर्छ
जहाँ पूर्णेन्दुको शीतल किरण
छल्दीको जलतरङ्गमा प्रतिबिम्बित हुँदा
ऊ मुस्कुराउँछ
ऊ लजाउँछ
ऊ भाग्न खोज्छ छायादेखि
ऊ लुक्न खोज्छ जूनदेखि ।
लहरै उभिएका घना वृक्षहरू
शरद ऋतुको शीतल हावा बोकी
विस्तारै चलमलाउँछन्
मानूँ साउती गर्दै छन्
त्यो पवनकलिका किन मुस्कुराउँछे ?
किन समीरसँगै
यो विराट सन्नाटामा देखापर्छे ?
त्यो हराउँछे दिनभरि
जब रातको प्रथम प्रहर
खेतका गरागरामा देखापर्छ
ऊ झुल्किन्छे
के ऊ डराउँछे घामदेखि ?
के ऊ तर्सिन्छे दिनदेखि ?
समीर फर्किएर उसलाई हेर्छ
नीलिमा उसकै नजिक छ
र टाढा–टाढा
शिखरका अस्पष्ट आकृतिमा चियाउँदै छ
सायद सुदूर लक्ष्यमा
सायद जीवनको गहिराइमा
जीवनको सार्थकता खोज्दै छ ऊ ।
ऊ फर्किन्छे क्षितिजका तरेलीदेखि
र सुकोमल पुष्पलतालाई सुमसुम्याउँछे
चन्द्र किरणको मधुर प्रकाशमा
पुष्पपत्रको रङ फिका देखिन्छ
सायद समीरजस्तो
ऊ सोच्छे
विस्तारै शीतलहरीको प्रवाह बढ्दै जाने छ
र शीतका थोपाहरूले
पुष्पपत्रलाई सिञ्चन गर्नेछन्
शीतले भिजेका पत्रहरू
केही कम्पित
केही उल्लासित
जोवनको प्रथम स्पर्शमा
लज्जित सुकुमारीझैँ
बिहानको निख्खर घाममा
फेरि चम्किने छन् ।
उसले पुष्पथुँगालाई खेलाउँदै भन्छे
एकलास अरण्यको यो विशाल छाती
एक्लो तपाईंं र एक्लो जीवन
रङ्गहीन साँझहरू हरपल घेर्छन्
सुनसान रातहरू हरक्षण डस्छन्
समीर ! पट्यार लागेन यो जीवन जिउन ?
नीलिमा ! मलाई थाहा छ यो अतृप्त चाहना
प्यासी बनेरै सकिनेछ
तर पनि योे जीर्ण छाती
आकाश ओढेर किन बाँच्ने गर्छ ?
मनसुन बर्सेर खस्दै गरेको बेला
ऊ झनै उदास बनेर दुख्ने गर्छ ।
फूल झरेका लताहरू
गुल्जार बनेर फुल्ने गर्छन् र खेल्ने गर्छन्
मधुमख्खिका ताँतीहरू
पात झरेका वृक्षहरू
पल्लवित बनेर झुल्ने गर्छन् र लुक्ने गर्छन्
लताकुञ्जमा पन्छीहरू
तर यो मेरो छाती
सधैँ–सधैँ शुष्क मरुस्थल बन्ने गर्छ
सधैँ–सधैँ नीरस बगरझैँ सुत्ने गर्छ ।
समीर ! तपाईंंं सोच्नुहुन्छ
जून खसेर प्रित लाओस्
उद्यमविनाको कोरा सपना
विपना कसरी बन्न सक्छ ?
तपाईंं कल्पित दुनियाँ रच्नुहुन्छ
लास उठेर सजीव बनोस्
श्रमविनाको मृतिकामा
जीवन कसरी फुल्न सक्छ ?
नीलिमा ! मलाई थाहा छ
म आकाश चुम्ने रहर लिएर
जड बनेर बाँचिरहेछु
म जति पछ्याउँछु ऊ उति टाढा हुन्छ
र पनि म बाँचिरहेछु
यो जीवन हो वा मृत्यु हो,
यो खुसीहो वा आँसु हो
मलाई नै थाहा छैन ।
देशले बलिदान मागेको बेला
तपाईंंं गुमसुम यो एकान्तमा
जीवन सुकेर झर्नुहुन्छ
यो समय रुने समय होइन
यो बेला भाग्ने बेला होइन
देशले विश्वास मागेको बेला तपाईं जलेर मर्नुहुन्छ ।
नीलिमा ! कसरी भन्न सक्छ्यौ
मेरो देश मलाई नै प्यारो छैन
मेरो माटो मलाई नै प्रिय छैन
मेरो देश छातीमँ दुख्ने गर्छ
माटो मसँगै रुने गर्छ ।
समीर ! भावुक बनेर दुख्ने गर्छन्
विचारहीन मान्छेका मनहरू
आँसु बनेर बग्ने गर्छन्
कमजोर छातीका सोचहरू
माटो भावनामा चम्किँदैन
मात्र जन्माउँछ चोटहरू
पीडा अश्रुगङ्गाले धोइँदैन
मात्र बढाउँछ घाउहरू ।
नीलिमा ! के ती छातीका आला घाउ
बन्दुक बोकेर निको हुन्छन् ?
समीर ! देश बन्दुकको पिञ्जडामा कैद भएको बेला
मैले आँसुको गण्डकी सुमसुम्याएर
तातोको अनुभव गर्न सक्दिनँ
देश पराधीन हुँदै गरेको बेला
मैले बन्दुकको अगाडि शिर झुकाएर
आफ्नो अस्मितालाई लिलाम गर्न सक्दिनँ ।
नीलिमा ! यो पहराविरुद्धको दुस्साहस हो
मृत्यु मुख बाहेर उभिएको छ
र पछ्याउँदै छ तिम्रो छाया
यो समयविरुद्धको दुष्प्रयास हो
हावा विषाक्त बनेर फैलिएको छ
र सकाउँदै छ हाम्रो माया ।
समीर ! जहाँ जीवनको धुकधुकी हुन्छ
मृत्यु ऊसँगै उभिएको हुन्छ
उसले हरेक क्षण तर्साउँछ
उसले प्रत्येक पल पछ्याउँछ
कति बलिष्ठ हुन्छ मृत्यु !
मृत्यु यथार्थ हो जिन्दगीको
कति निर्मोही हुन्छ मृत्यु !
मृत्यु कटु सत्य हो प्रकृतिको ।
आकाश कालो बनोस्
अथवा घनघोर झरी बर्साेस्
बिहानी शीतका विन्दु–विन्दुमा
उषा मुस्कुराएर झुल्किदिन्छ
बस्ती बस्तीका जीवनछटा
मृत्युले निल्दै जाओस्
अथवा रगतको खोलो बगोस्
जीवन फेरि पनि मुस्कुराउँछ
हामी कुरूपताभित्र सुन्दरता खोज्ने मान्छे
हामी प्रतिकूलतामा अनुकूलता देख्ने मान्छे
हामी मृत्यु ओढेरै बाँच्ने गर्छौँ ।
नीलिमा ! विस्तीर्ण आकाशको गुम्बजभित्र
म कैदी बनेर भोग्ने गर्छु
मेरो जीवनको खण्ड–खण्ड
जीवन मलाई पनि त माया लाग्छ
देश मलाई पनि त प्रिय लाग्छ
जीवन जिउनु हो प्रकृति फरक छ
फरक फरक रङमा फुलेका फूलहरू
आखिर फूल नै हुन् ।
समीर ! यो जीवन हैन मृत्यु हो
तपाईंंं मृत्यु भोग्दै हुनुहुन्छ
मृत लास मात्र मृत्यु होइन
ज्यूँदो लास पनि त मृत्यु हो ।
जहाँ जीवनको सुन्दरता छैन
लालित्य र गरिमा छैन
त्यहाँ मृत्यु हाँसेको हुन्छ
म प्लास्टिकको बिरुवाजस्तो
चेतनाहीन भएर बस्न सक्दिनँ
म दासको जीवनजस्तो
अर्थहीन भएर बाँच्न सक्दिनँ ।
जीवन फूल फुलेर जन्मिँदैन फुलाउनुपर्छ
जीवन हाँसो लिएर जन्मिँदैन हँसाउनुपर्छ
अप्ठ्याराविरुद्धमा लडिरहनु
मृत्युविरुद्धमा जुधिरहनु
यही त जीवन हो ।
हिउँसँग खेल्नु पो सार्थकता !
धारसँग जुध्नु पो गौरवता !
फुरफुर उड्ने हिउँसँगै
कटकट गर्ने जाडोसँगै
पौंठेजोरी खेल्नु र जीवन फुल्नु
आहा ! मलाई यस्तो जीवन पो प्रिय लाग्छ ।
समीर ! सपना देख्न भुल्नु
पतनको सुरुआत हो
वर्तमानदेखि भाग्नु
समयदेखि भाग्नु
जीवनको अवसान हो
घृणाविरुद्धको सङ्घर्ष
कुरूपता विरुद्धको सङ्घर्ष
बस्, सङ्घर्षले नै त जीवन सुन्दर हुन्छ
सङ्घर्षले नै त चेतना अभिमुख हुन्छ ।
प्रेम न निरपेक्ष हुन्छ समीर !
न निवर्गीय हुन्छ प्रेम
प्रेम त समाजमै जन्मिने गर्छ
प्रेम त समाजमै हुर्किने गर्छ
समाजजस्तो छ उस्तै हुन्छ
त्यहाँ झल्किने सुन्दरता
कोही महलका प्रिय हुन्छन्
कोही झुप्राका प्रिय हुन्छन्
छाप्राहरूका प्यारा प्रतीक
दरबारहरूमा वर्जित हुन्छन् ।
दृष्टि न हो
मलाई श्रमका बगैँचाहरूमा
ठेला उठेका हात प्रिय लाग्छन्
उँचा र सेता महलहरू
जो सधैँ निस्क्रिय बाँच्ने गर्छन्
यी हातहरूलाई कुरूप देख्छन् ।
जीवन अन्तरविरोधको सङ्घर्ष हो
उज्यालो र अँध्यारोको लडाइँ हो
कोरा चाहनाको बैसाखीले
हामी सपनाको पहाड चढ्न सक्दैनौँ
बलिदानका अनुपम पुष्पोद्यानमा
झरिसकेका फूलहरू हाँस्न सक्दैनन्् ।
तपाईंंं चाहनुहुन्छ असल जीवन
खुसीले भरिएको सुन्दर बिहान
तर ती सुनौला सपनाहरू
स्वयम् जन्मिँदैनन््
स्वयम् झुल्किँदैनन््
त्यहाँ त श्रमको खाँचो हुन्छ
त्यहाँ त त्यागको महत्व हुन्छ ।
यान्त्रिकता जीवन हैन
भीरुता जीवन हैन
परस्पर जुधेरै अघि बढ्छन्
विजित युद्धका नायकहरू
निरन्तर लडेरै बाँच्ने गर्छन्
प्रकृतिविरुद्धमा मान्छेहरू ।
उसको गोलो र गोरो अनुहार
जूनको मन्द उज्यालोमा चम्किँदै थियो
हसनाको मीठो सुगन्धले भरिएको बतास
उसको नजिकै लहराउँदै बग्दै थियो
सायद उसले नीलिमालाई छुन्थ्यो
उसको कपाल हल्लाउँथ्यो र भाग्दै जान्थ्यो पर ।
ऊ नजिकै बसेकी थिई
उसको तातो प्रश्वासले समीरलाई छुन्थ्यो
उसको चिसो जीवन उसको तातो उच्छ्वासले
अलि अधीर बन्थ्यो र बग्ने गथ्र्यो
रातको नीरव एकान्तमा ।
ऊ कहिले समीरसँग छोइने गर्छे
कहिले सुदूर आकाशमा हेर्ने गर्छे
उसको स्पर्शले शान्त तलाउमा कम्पन छुट्छ
उसको हेराइले प्रशान्त क्षितिजमा हलचल हुन्छ ।
ऊ कम्पित बन्छ
मोहिनी रातको एकान्तले तर्साउँछ
कौमारी महकको तीखो स्पर्शले लठ्याउँछ
ऊ विह्वल हुँदै धेरै टाढा पुग्छ
ऊ सुदूर अतीतको शरदकालीन बिहानीमा
सिमरानसँगै बस्छ
लालुपातेको रक्तिम छाया
नीलिमाको गुलाफी मुखाकृतिमा प्रतिबिम्बित हुन्छ
उसले निर्निमेष हेरिरहन्छ
प्रच्छन्न कौमार्यलाई
कति अबोध छ ऊ
कति प्रिय छ ऊ ।
हो सिमरान ! ऊ तिमीजस्तै मृदुल–मृदुल
ऊ तिमीजस्तै प्रिय–प्रिय
उसले निरन्तर जीवनको कुरा गर्छे
मात्र प्रगति
मात्र क्रान्ति
क्रान्तिसिवाय अरु जानेकै छैन सायद ।
न कहिल्यै भावुक बन्छे
न कहिल्यै कामुक देखिन्छे
किताब च्यापेर कलेजमा पढ्ने उमेर
चञ्चल बनेर सर्वत्र घुम्ने उमेर
ऊ पाको मान्छेझैँ कुरो गर्छे –
प्रत्येक दिन मर्दै छन् सपुतहरू
प्रत्येक दिन जल्दै छन् सपनाहरू
तपाईंं भने आसिक बनेर बस्नु हुन्छ
निरुद्देश्य घुम्नु हुन्छ ।
यहाँ हरपल बज्ने गर्छ मृत्यु घण्टा
र बग्ने गर्छन् रगतका नदीहरू
मानूँ यो मध्ययुगीन व्यवस्था हो
अथवा बर्बर न्यायको उत्कर्षता
मानूँ यो निरङ्कुश कसाईखाना हो
अथवा हिटलरी प्रताडना ।
तपाईं सोच्नुहुन्छ
बन्दुक खुसीले मैले बोकेँ
घर खुसीले मैले छोडेँ
सबै यसै भन्छन् महलमा सुत्नेहरू
तर उनी बुझ्दैनन्
यो बन्दुक
यो बनबास
न खुसी हो
न रहर हो ।
समीर ! बन्दुक समयको माग थियो
बन्दुक बाध्यताको उपज थियो ।
मेरा प्रियजन !
मेरा पालक !
जसले जीवनको गोरेटो दिए
जसले स्नेहको सागर दिए
उनी जिउँदै गाडिए
हो समीर ! मेरा भिनाजू
जसले जीवनको हुन्डरीमा
म पतकर बनेर उड्दैगरेको बेला
मलाई काख दिए,
उनी मारिए ।
उनका हात जिउँदै काटिँदा
आँखा जिउँदै झिकिँदा
म थाम्न नसकेर बालहृदयको कमलो मन
अथाह पीडाले मूच्र्छित बनेँ
म विराट सन्त्रासको घना जङ्गलभित्र
एक्लै असहाय चिच्चाइरहेँ ।
दिदीले ज्यानको भीक्षा माग्दै
गोडा ढोगेर रोइन धेरै
उनले आँसु बगाइन्
उनले आर्तनाद गरिन्
तर ती दयाविहीन हुँडारहरू
जल्लादजस्तै उफ्रिरहे र लुटिरहे
हाम्रा जीवनका सपनाहरू ।
समाज मूक बनेर उभिइरह्यो
सत्ता नृशंस गर्जिरह्यो
उसको हत्याको विरुद्धमा
न मान्छे बोल्यो
न मान्छेको कानुन बोल्यो ।
मैले मृत्युको शृङ्खलालाई
फूल लिएर स्वागत गर्न सकिनँ
मैले अतिचारको सम्झनामा
आँसु बगाएर बस्न सकिनँ ।
मैले मेरो परिवेश हेरेँ
राज्य हिंस्रक जन्त्ुझैँ डुल्दै थियो
राज्य पागल कुकुरझैँ घुम्दै थियो
उसले रोक्दै थियो मान्छेहरूको आवाज
उसले प्यँुदै थियो जनताहरूको रगत ।
म त्यस नृशंसताको विरुद्धमा
कसरी अबोध बनेर बस्न सक्थेँ ?
म त्यस दानवी अत्याचारको विरुद्धमा
जल्दो आगोको खोजीमा निस्किएँ
उन्मुक्तिको महान् युद्धमा लम्किएँ ।
समीर ! यस्तो सङ्गीन घडीमा
सन्त्रासले घेर्दै गरेको बेला
मैले बन्दुक बोकेँ
मैले विद्रोहको आवाज बोलेँ
यो दुस्साहस हो भने साहस के हो ?
यो कुविचार हो भने सुविचार के हो ?
के रोएर बस्नु सुविचार हो ?
के दासता स्वीकार्नु सुन्दरता हो ?
देश अकिञ्चन व्यथाले कहराउँदै छ
र मर्दै छन् कुुकुरझँंै मान्छेहरू
आसुरी सत्ताले देश चपाउँदै छ
र जलाइँदै छन् आस्थाका रश्मिहरू ।
तपाईंंलाई यस्तो संवेदनाले छुने गर्छ ?
हँ ! ऊ झस्किन्छ
सायद गतिमा अपर्भmट गतिरोध हुँदा
को झस्किन्न र ?
उसले नीलिमालाई सम्झाउँदै भन्छ
नीलिमा ! रगत त्यत्ति सस्तोे छैन
जति हामीले सोच्ने गर्छौं
बन्दुक सम्पूर्ण जित होइन
जति तिमीले भन्ने गछ्र्यौ ।
नीलिमा ! रगत त्यसरी नबगाऊ
मानूँ पानी हो त्यो
मानूँ खहरेको बढ्दो भेलमा
बग्दै गर्ने फोहर पानी ।
समीर ! रगत रहर हैन बाध्यता हो
बन्दुक ध्येय हैन अन्तिम विकल्प हो
हामी अन्तिम विकल्पको युद्ध लड्दै छौँ
हामी महान् सत्यको लडाइँ लड्दै छौँ ।
सबै त्यसै भन्छन् रगतको खेती गर्नेहरू
कोही रगतमा पौडिएर पारि पुग्छन्
र भुल्न पुग्छन्
रगत पोखिएका मझेरीहरू
कोही लासको भ¥याङ चढेर माथि पुग्छन्
र छोड्न पुग्छन्
भ¥याङ बनेका बस्तीहरू ।
सायद वर्तमानको यथार्थ हो त्यो
समाजको यथार्थ
राजनीतिको यथार्थ
जो उसले भोग्यो
तर बुझ्न सकेन उसले
वर्तमानको नवीन यथार्थ
जुन भर्खरै जन्मिएको छ ।
यही यथार्थ हो समीर, उसले भनी–
हामीले पुरातन दरबारभित्र
हाम्रो आस्थाको संसार देखेनौँ
हामीले रगतको बिस्कुन सुकाई
सुन्दर बिहानको कथा लेखेनौँ ।
यो त उत्सर्गको नवीन बिम्ब हो
यो त उन्मुक्तिको अन्तिम अस्त्र हो ।
हाम्रा जूनहरू लुकाइएका छन्
हामी राक्षसका विरुद्धमा
शिरमा कफन बाँधेर निस्किएका छौँ
हाम्रा धूनहरू खोसिएका छन्
हामी लुटेराको विरुद्धमा
आयुध बनेर फैलिएका छौँ ।
हाम्रा खुसी खोस्नेहरू
रगतको आहालमा आफ्नो भविष्य देख्नेहरू
हामीलाई सिकाउँछन् शान्ति र सद्भाव
हामीलाई पढाउँछन् विकास र सुख ।
खै कहाँ छन् फलाम पिट्नेका सुखहरू ?
खै कहाँ छन् जमिन जोत्नेका सिर्जनाहरू ?
मलाई देखाइदेऊ
अविराम बालुवा चाल्नेहरूको
सेतो महल कहाँ ठडिएको छ !
रातोदिन ईंट्टा बोक्नेहरूको
रातो महल कहाँ उभिएको छ ?
घुम्ने कुर्सीमा बस्नेहरू
लाज पचाएर बक्ने गर्छन्
समानताका तिलस्मी भाषणहरू
स्वतन्त्रताका कपटी कविताहरू
खै ! कहाँ छन् जीवनभर भारी बोक्नेहरूका
सपना फुलेर झाँगिएको ?
खै ! कहाँ छन् जीवनभर श्रम बेच्नेहरूका
विपना सुखले रङ्गिएको ?
ए ! बन्दुकको विरोध गर्नेहरू
पहिले तिमीले बन्दुक बिसाऊ
र आऊ विचारको युद्ध गर
ए ! युद्धको विरोध गर्नेहरू
आऊ यी झुप्राहरूको अन्तर्यमा
दुख्ने मान्छेका आर्तनाद सुन
सक्छौ के सुन्न यी दर्दहरू !
सक्छौ के सुन्न यी पीडाहरू !
यी घाउहरूको भित्र कतै देश दुखेर रुने गर्छ
यी चोटहरूको भित्र कतै माटो आहत बनेर दुख्ने गर्छ ।।