बिकु लामा – आदिम ईश्वर
मैले युगौँदेखी
पुज्दै आएको मेरो ईश्वर
किन रक्तपात गरिरहन्छ
मेरै आस्थामाथि
किन गरिरहन्छ बारम्बार हत्या
मेरा भावनाको फुलहरुको ।
पत्ता लगाउनु छ अब
ईश्वरको नयाँ बासस्थान
लगाउनु छ एक फन्को पृथ्वीलाई
चहार्नु छ मन्दिर, मस्जिद, चर्च र गुम्बा
आदिम ईश्वरलाई भेट्न
हो, भौतारिएको छु म धेरै पटक ।
आफ्नै हृदयको बली दिएर
धेरै पटक चढाएको छु
धुपजस्तै सल्काएर आफैलाई
तर मेरो ईश्वर
मसँग कहिल्यै साक्षातकार भएन ।
मौसम बदलिए जस्तै
किन बदलिन्छ होला
अवतारैपिच्छे ईश्वरको रुप
सत्ता फेरिएझैँ छिनछिनमा
किन परिवर्तन भइरहन्छ हँ ईश्वर पनि !
आफ्नै साम्राज्य बनाउन
किन तल्लिन छ ऊ ?
करोडौं अस्थिपन्जरको चुली उठाएर
बनाइरहेछ चिहानको बीभत्स पहाड
साँच्चै एक दिन ईश्वर पनि
पुरिनेछ त्यही पहाड खसेर
र, पुरिनेछन् मान्छेका समस्त भ्रमहरूपनि ।
किन उस्तै–उस्तै लाग्छन् पत्थर र ईश्वर ?
जो कहिल्यै बुझ्दैनन्
हाम्रा मनका मूच्र्छनाहरू
जो आवाजविहीन भइरहन्छ सधैँ,
हामीले भक्ति र उपासना गरिरह्यौँ
कथित ईश्वरको
अनि पर्खिरह्यौँ एउटा सिङगो युग ।
अचानक आज फेरि
मेरै बिरुद्धमा उभिएको छ ईश्वर
मेरा विश्वासका फूलपाती कुल्चेर
मंगलधुनकै विपक्षमा
किन क्रुर बनेर उभिएको छ
मेरो आदिम ईश्वर ?