Min Dwandi – Shahid Ma Ra Prajatantra

उनी र म दुईजना
देशमा प्रजातन्त्र ल्याउन
सडकमा संगै निस्केका थियौं
म सडकमा
मुठ्ठी उज्याएर हिंडिरहेको थिएँ
उनमा अझ बढी जोश थियो
त्यसैले उनी आफ्ना दुबै हातमा
ईंटा–ढुंगा समेत बोकेर हिंडिरहेका थिए ।
हामी दुबैले आक्रोशपूर्वक
गगनभेदी नारा लगाइरहेका थियौं
त्यस्तैमा अचानक तातो गोली आएर
उनको छातीमा लाग्यो
मैले हेर्दाहेर्दै
“प्रजातन्त्र जिन्दावाद !” भन्दै
उनी सडकमा ढले
मेरै आँखा अगाडि उनी शहीद भए ।
उनी त निकै
भाग्यमानी साबित भए
यस्तो प्रजातन्त्र भोग्न
मलाई छोडेर उनी गए
अहिले कथित प्रजातन्त्रको नाममा
सोर न सुद्धीको बहुमतको नाममा
मलाई बलजफ्ती उभ्याइएको छ
मेरो आफ्नै हित बिरूद्धमा ।